पुरु रिसाल सानो छँदा

दाजुकै पछिपछि

पुरु रिसाल अग्रज-पत्रकार हुनुहुन्छ । उहाँले गोरखापत्र दैनिकमा रहेर तीस वर्ष काम गर्नुभयो । २०२१ सालमा गोरखापत्रमा काम गर्न थाल्नुभएको थियो । अहिले विभिन्न संस्थानको प्रेस सल्लाहकार हुनुहुन्छ । प्रेस काउन्सिल, नेपाल परिवार नियोजन संघ, राष्ट्रिय योजना आयोग, नेपाल वायुसेवा निगम, नेपाल आयल निगम आदिमा रहेर उहाँले काम गर्दै आउनुभएको छ । उहाँको जन्म २००२ साल माघ १६ गते भक्तपुरको दधिकोटमा भएको हो । उहाँका पिताका नाम गोबर्द्धन र माताको बालकुमारी हो । उहाँहरू चार दाजुभाइ र एक बहिनी जन्मनुभएको हो । पुरु माहिलो छोरा हो । त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातक र युगोस्लाभियामा पत्रकारिताको विशेष अध्ययन गर्नुभएको छ । उहाँले भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, सिंगापुर, इटाली, ग्रीस, युगोस्लाभिया आदि देश भ्रमण गर्नुभएको छ । यसपटक रिसाल सानो छँदाका केही सम्झना :
काजक्रिया गर्दा हिन्दु संस्कारअनुसार गरुड पुराण भन्ने गरिन्छ । हामी सानो छँदा उक्त पुराण पढ्दा नौ मोहर दिने चलन थियो । पुरोहितले यत्तिका पैसा पाउँछन् भन्ने भएपछि बुबाले छोराहरूलाई संस्कृत पढाउने विचार गर्नुभयो । बुबाले दाइ भैरव रिसाललाई संस्कृत पढ्न पठाउनुभयो । म पनि उहाँकै पछिपछि लागें । जीवन र पेसा पनि उहाँकै चेला बनेर बित्दै छ ।
हाम्रो परिवार खान मात्र पुग्ने खालको थियो । सबैले काम गर्नैपर्थ्यो । बुबा पुरोहितको काम गर्नुहुन्थ्यो । दाइ लुभू (ललितपुर) को लुभू पाठशालामा संस्कृत पढ्न जानुहुन्थ्यो । म पनि उहाँकै पछि लागें । बाटामा दुइटा खोला थिए । त्यहाँ पुग्न एक घन्टा लाग्थ्यो । बाढी आउँदा गाउँलेको सहयोगले खोला तर्नुपर्थ्यो ।
लुभू पढेपछि दाजु तीनधारा पाठशाला पढ्न जानुभयो । काठमाडौं बस्न थाल्नुभयो । त्यसबेलासम्म बुबालाई पुरेत्याइँ गर्न दाजुले सघाउनुहुन्थ्यो । त्यसपछि सघाउने काम मैले थालें । हाम्रा एक सय घर जति जजमान थिए । म सात वर्षको हुँदा व्रतबन्ध गर्न सक्थें । दस वर्षको हुँदा श्राद्ध गर्न सक्ने भएको थिएँ । मलाई कति ठाउँमा त बोकेर लान्थे । धेरैपटक सिदा र मलाई बोकेर घर ल्याएको पनि याद छ ।
म श्राद्ध गरेर पोको बोकेर लुभू पाठशाला पढ्न जान्थें । पोको स्कुलछेउ बुबाले चिनाएका घरमा राख्थें । बेलुका फर्कंदा बोकेर घरसमेत ल्याउँथे । श्राद्ध गर्दा बढीमा २९ पैसा र कम्तीमा ९ पैसासमेत मिल्थ्यो । कहीँकहीँ एक मोहर मिल्थ्यो । बुबाले मलाई खर्च गर्न ४ पैसा दिनुहुन्थ्यो । चार पैसा पनि खर्च गरेर सकिन्नथ्यो । एक पैसामा चारवटा पुष्टकारी आउँथ्यो । एक पैसाको बकुल्ला (गेडागुडी) ले टन्न अघाइन्थ्यो । त्यो चार पैसा पनि बच्थ्यो ।
मेरा साथी अलि उमेर खाएका थिए । गुच्चा खेल्न हिँड भन्थे । म खेल्थें । तर उनीहरूले सधैं जित्थे । म सधैं हार्थें । उनीहरूले नै चुरोट खान सिकाए । २५ दिन खाएपछि मैले उनीहरूको संगत छाडें । चुरोट पनि छाडें । त्यसपछि जीवनभर चुरोट खाइनँ । हामी चारै दाजुभाइ चुरोट खाँदैनौं ।
लुभू पढ्दा हामी जुत्ता लगाउँथ्यौं । तीन मोहरमा जुत्ता आउँथ्यो । सिस्नेरीमा सिलाएका जुत्ता पाइन्थे । दाइकै कारण जुत्ता लगाउने चेतना पनि आएको हो । कमिज र सुरुवाल हाम्रो लुगा हुन्थ्यो । खाजा पनि घरबाट लगिन्नथ्यो ।
जुत्ता फुकालेर सुकुलमा बस्थ्यौं र पढ्थ्यौं । कापीमा नै लेख्यौं । खरिपाटी उत्तिको चलाउनुपरेन । मसी भर्ने कलम चलायौं । कहिले मसी चोप्ने कलम पनि हुन्थे । बेलाबेला लुगामा मसी लाग्थ्यो । अनि चाहिँ बुबाले गाली गर्नुहुन्थ्यो, ‘यति पनि ढंग छैन, पाजी ।’
म पढाइमा ठीकैको विद्यार्थी हुँ । तर पिटाइ खानुपर्ने खालको विद्यार्थी होइन । बुबाका लामा जुँगा थिए । अलि डर लाग्थ्यो । बुबासँगै दाजुको पनि डर लाग्थ्यो ।
लुभूका हामीलाई तोयानाथ न्यौपाने, सीताराम पौडेल र दामोदर कोइरालाले पढाउनुभयो । त्यहाँ मेरा धेरै साथी थिएनन् ।
म दधिकोटबाट पुतलीसडकमा गणेशप्रसाद पौडेलकहाँ श्राद्ध गराउन आएँ । मेरा अलि मिल्ने साथी कमल ढकाल पनि मसँगै आए । उनलाई हामी ‘कुमाले’ भनेर बोलाउँथ्यौं । उनी अलि ठूला पनि थिए । त्यसबेला पुरानो ठिमीबाट काठमाडौं आउने गाडी थियो । गाडीमा आउँदा-जाँदा कमलले मलाई धोतीले छोप्थे र भन्थे, ‘सानो मान्छे पैसा लाग्दैन ।’ यसरी उनले पैसा बचाइदिन्थे ।
सानोमा कपर्दी खेलिन्थ्यो । कपडाको फुटबल त बनाइन्थ्यो । तर खेल्दा त्यति रमाइलो हुँदैनथ्यो ।
म सानै हुँदा दाइ ‘हालखबर’ पत्रिकामा काम गर्न थाल्नुभएको थियो । घरमा एउटा रेडियो थियो । दाइ घर आउँदा पत्रपत्रिका लिएर आउनुहुन्थ्यो । रेडियो सुन्ने र पत्रिका पढ्नाले चेतना बढेको थियो ।
मेरो पनि लुभूमा पढाइ सकियो । कक्षा ८ पढेपछि म काठमाडौं गएँ । म कक्षा ९ मा दरबार हाई स्कुलमा पढ्न थालेँ । म संस्कृत विद्यार्थी नै रहें । मैले त्यहाँबाट दोस्रो श्रेणीमा पूर्वमध्यमा सकें ।
दाजु त्यसबेलासम्म राजनीतिमा लागिसक्नुभएको थियो । उहाँ पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्यजस्ता नेताका नजिक हुनुहुन्थ्यो । उहाँहरू कहिलेकाहीँ हाम्रो घर दधिकोटमा आएर बस्नुहुन्थ्यो ।
दाजुको राजनीतिक चेतनाले गर्दा उहाँ अलि बाठो हुनुभएको थियो । संस्कृतले अब ख्वाउन-पियाउन सक्दैन भन्ने लागेछ । मलाई अंग्रेजी पढाउनुपर्छ भन्ने ठान्नुभयो । म नन्दी रात्रि स्कुलमा पढ्ने थालें । पूर्वमध्यमा सकेपछि अंग्रेजी मात्र पढ्नुपर्थ्यो । वसन्त शर्म्मा नेपाल त्यहाँ पढाउनुहुन्थ्यो । मलाई अलि टाठो देखेर उहाँले मलाई पद्मोदय स्कुल ल्याउनुभयो । मैले पद्मोदयबाट दोस्रो श्रेणीमा एसएलसी पास गरें ।
२०१७ सालमा राजा महेन्द्रले नेताहरूलाई पक्राउ गर्दा म दरबार हाई स्कुलमा पढिरहेको थिएँ । हल्ला भयो । म दौडँदै मदनमणि दीक्षितका घर गएँ र उहाँलाई भने, ‘माडसाब यो पक्र्यो । ऊ पक्र्यो भन्छन् ।’ त्यो सुनेर उहाँ बाहिर निस्कनुभयो । मलाई यस्तो कुरा उहाँलाई सुनाउनुपर्छ भन्ने चेतना विकास भएको रहेछ ।
काठमाडौं बस्दा म मामाका छोराहरूसँग असनमा बसें । उहाँहरू ठूला हुनुहुन्थ्यो । खाना पकाउनुहुन्थ्यो । म पानी ल्याउँथें र भाँडा माझ्थें । पानी लिन जाँदाजाँदै नेवार समुदायको नेपाल भाषा सिक्ने मौका पाएँ । त्यहाँ बस्दा एकपटक राति निदाउन खोज्दा दाइले प्याट्ट हिर्काउनुभयो । अरू बेला कहिल्यै पिट्नुभएन ।
दरबार हाई स्कुलमा वाचस्पति देवकोटा, रामप्रसाद भट्टराई, पीताम्बर दाहाल, यज्ञनिधि लोहनी आदि मेरा साथी थिए भने पद्मोदयमा विपिन कोइराला, अच्युतराजभण्डारी, अच्युत खरेल आदि थिए । तीनै स्कुलमा छात्रा कोही हाम्रो कक्षामा थिएनन् ।
सानोमा दसैं, तिहार र जनैपूर्णिमा खुबै रमाइलो लाग्ने चाडपर्व थिए । तिहारमा म भट्याउँथे । सबैले मन पराएका थिए । पैसा पनि धेरै हुन्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ साउन ३१ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment