उज्ज्वल जीसी सानो छँदा

ट्याक्सीमुनि म बाँचे

यताउता जताबाट हेरे पनि राम्रा
ती हुन् सबै नेपालका भाईबहिनी हाम्रा
यो गीत उज्ज्वल जीसीले लेख्नुभएको हो । उहाँ साहित्यकार, चलचित्र कलाकार, गायक आदि हुनुहुन्छ । उहाँको जन्म २०१७ भदौ २७ गते काठमाडौंको ठमेल, भगवतीस्थानमा भएको हो । उहाँका पिता हर्षगम्भीरसिंह र माता डोमकुमारी हुनुहुन्थ्यो । उहाँहरू तीन दाजूभाइ र एक बहिनी जन्मनुभएको हो । उज्ज्वल जेठो छोरा हो । ‘बाल लहरी’ (कवितासंग्रह) सहित उहाँका प्रकाशित पुस्तकहरू : ‘श्रद्धा-कुसुम’ ‘समर्पण’, ‘पुष्पाञ्जलि,’ ‘कालो बादल’, ‘कक्टेल’, ‘मनका तरङ्गहरू’, ‘चस्किदिन्छ मुटु,’ ‘नखोज आँसु बर्साउन’ आदि हुन् । उहाँले करिब दुई दर्जन पुरस्कार तथा सम्मान पाउनुभएको छ । उहाँ विभिन्न सामाजिक एवं साहित्यिक संस्थामा काम गर्दै आउनुभएको छ । जीसीले ‘बदलिँदो आकाश,’ ‘आदर्श नारी’, ‘कान्छी’ आदि चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले पाकिस्तानी, बंगाली र नेपाली भाषामा बनाइएको संयुक्त लगानीको चलचित्र ‘हामी एक हौँ’ र ‘ममता’मा पनि अभिनय गर्नुभएको छ । २०४० को दशकको चर्चित लोकगीत, ‘आज मेरो करमै चिनियो, मुलबाटो जाने….’ उहाँले गाउनुभएको हो । २०६० सालतिरको भजन ‘प्रभुको दर्शन गर्न कसरी म पाउँ, मनको मन्दिर धाउँ या हरिकिर्तन गाउँ…’ र अहिले सुनिने राष्ट्रिय गीत, ‘यो देशको माटोलाई निधारमा टाँसौं हामी, शान्तिप्रेमी नेपाली भई विश्वभरी बाँचौं हामी’ निकै चर्चित छन् । उहाँको आफ्नै स्वर तथा संकलनमा करिब एक दर्जन लोकगीत रेडियो नेपाल तथा टेलिभिजनमा रेकर्ड तथा छायांकन भएका छन् । उहाँका केही आधुनिक गीत, राष्ट्रिय गीत र भजन रेकर्ड भएका छन् । कुनै छायांकन भएका छन् । कुनै गीत एल्बममा समेटिएका छन् । यसपटक साहित्यकार जीसी सानो छँदाका केही सम्झना :
मेरा जीजुबुबा अमरध्वज, हजुरबुबा रणगम्भीरसिंह र ठूलो बुबा युद्ध गम्भीरसिंह तीनै जना तिब्बतका लागि नेपालका कन्सुलेट जनरल हुनुहुन्थ्यो । उहाँहरू त्यहाँको राजदूतजस्तै भएर काम गर्नुभएको थियो । बुबा चाहिँ उत्तिको भविष्यका बारेमा चिन्ता नलिने स्वभावको हुनुहुन्थ्यो । राजनीति गर्न रुचाउनुहुन्थ्यो । त्यसैले म तीन/चार वर्षको हुँदा हाम्रो परिवार चितवनको बहेरी गयौं । त्यहाँ हामी दुई वर्ष जति बस्यौं । काठमाडौं आएर धोबीचौरमा बस्यौं । त्यहाँ ३/४ वर्ष बसेपछि कुस्लेचौरमा तीन/चार वर्ष बित्यो । त्यसपछि गल्को पाखामा तीन/चार वर्ष बित्यो ।
बुबा भजन गाउनुहुन्थ्यो । म हेरिरहन्थे । भजनतर्फ मेरो झुकाव यहि घटनाले भएको हुनुपर्छ । बुबा मलाई, ‘ठूलो मान्छेभन्दा पनि असल मान्छे बन्नु’ भन्नुहुन्थ्यो । बुबा मलाई सानोमा ‘लेलु’ भनेर बोलाउनुहुन्थ्यो । मेरो न्वारनको नाम भने ‘उदय गम्भीरसिंह’ हो ।
गल्को पाखा आएपछि म कक्षा ५ मा भर्ना भएँ । म शान्ति विद्यागृहको विद्यार्थी बने । त्योभन्दा पहिले बुबाले घरमै पढाउनुभयो ।
म स्कुलमा रहँदा लजालु स्वभावको थिएँ । अन्तरमुखी थिएँ । २०२८ सालसम्म डेराहरूमा बसियो । डेरामा बस्दा मैले साथी बनाइन । एक्लै भाडाकुटी खेल्थें । त्यसमै आनन्द आउँथ्यो । मलाई सरहरूले सोझो विद्यार्थी भन्नुहुन्थ्यो ।
म साढे तीन वा चार वर्षको हुँदा एउटा रमाइलो घटना भयो । हामी बसेको घर चार तलाको थियो । घरकी मालिक्नी बुढी कडा स्वभावकी थिइन । कसैले मन पराउँदैन थिए । त्यो घरमा शौचालय भुँइतलामा थियो । एकपटक शौचालय गएर फर्कदा भर्‍याङमा एक रुपैयाँको डबल देखें । मैले त्यो उठाइन । मालिक्नी बुढीले मेरो परीक्षा लिन त्यो डबल त्यहाँ राखेकी रहिछन् । उनी आएर आमालाई भनिन्, ‘तपाईंको छोरोले डबल टिपेन । यो बाबु इमान्दार रहेछ । पछि गएर ठूलो मान्छे बन्छ ।’
म ६/७ वर्षको कुरा हो । चुरोटको बट्टा च्यातेर बनाइएका टुक्राहरूको तास बनाएको थियो । म एकदिन खेल्दै थिएँ । अफिसबाट फर्कदा बुबाले देख्नुभयो । बुबालाई मैले तास खेलेको मनपरेन । बुबा रिसाउनुभयो । उहाँले ‘मलाई छोएर तास खेल्दिन’ भन भन्नुभयो । मैले भनें । मैले त्यसपछि आजसम्म पनि तास छुन सकेको छैन ।
दश/एघार वर्षको हुँदा म साइकल दुर्घटनाबाट बचेको छु । म साथीको साइकलपछाडी बसेर गइरहेको थियो । अस्कल क्याम्पसअगाडी साइकल त लड्यो । म चाहिँ ट्याक्सीमुनि पुगेछु । ट्याक्सीमा अड्केछु । कसरी कसरी म बाँचे थाहा छैन । सबैले यो घटना थाहा पाउनुभयो । बुबाले पिट्नुहुन्छ जस्तो लागेको थियो । तर उल्टै, ‘छोरा मान्छे भएर हरेस खानुहुन्न’ भन्नुभयो । मैले साइकल सिक्न र कुदाउन हौसला पो पाएँ ।
म कक्षामा पढ्दा एउटा अर्को घटना भएको छ । हाफटाइममा हामी डेरीमा दूध खान गयौं । त्यसपछि माधव भन्ने साथीले पौडन जाउँ भन्यो । हामी नारायणहिटीमा पौडन गयौं । म त पौडन जान्दिनथें । म डुबेछु । माधवले बचायो । स्कुल फर्कन आधा घण्टा ढिलो भइसकेको थियो । त्यसैले हामी स्कुल फर्केनौं । संयोगवश त्यसदिन बुबा स्कुल जानुभएछ । मलाई देख्नुभएन । म भने स्कुल सकिने बेलामा घर फर्कें । बुबाले गाली गर्नुभयो । उहाँले सोध्नुभयो, ‘कहाँ गएको थिइस् ?’ मैले, ‘पौडी खेल्न गएको थिएँ,’ भन्दा सत्य बोलेको भनी उहाँले माफ गर्नुभयो । भोलिपल्ट स्कुलमा प्रद्युम्न जोशी सरले १० माफि मगाउनुभयो । बेच्नमा उभ्याउनुभयो ।
दशैं निकै रमाइलो हुन्थ्यो । चंगा उडाउन पाउनु निकै रमाइलो हुन्थ्यो । म चंगाको शौखिन थिएँ । बुबा आफैं चंगा बनाएर दिनुहुन्थ्यो । दशैंमा विभिन्न परिकार खायो । खेल्यो । निकै आनन्दले बित्थ्यो । मामाघर धादिङ, मार्पाकका अधिकारीहरू हुन् । टाढा भएकाले थोरै मात्र जान पाइन्थ्यो । टिका लगाउन अरु सबै जाँदामात्र जाइन्थ्यो ।
दशैंमा दक्षिणाको उत्तिको आशा गर्दिनथे । एक मोहर र एक रुपैयाँ त पाइन्थ्यो । तर आफू राख्दिनथें । आमालाई दिन्थे । खाजा खान दिएको पैसा समेत म खर्च नगरी बचाउँथे । १५/२० रुपैयाँ पारेर आमालाई दिन्थे ।
बाल्यकाल उत्तिको रमाइलोसँग बित्यो भन्न मिल्दैन । संघर्ष गर्दैमा बित्यो । डेरामा बस्दा टुकी बालेर पढिन्थ्यो । एसएलसी दिदा मैनबत्ती र टुकीमा पढियो ।
स्कुल पढ्दाका साथी बुद्धिमान तामांग, जनकराज जोशी, सुनिलध्वज जोशी, उत्तमलाल प्रधान आदि हुन् ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ साउन २४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment