लीलानाथ शर्मा सानो छँदा

बाह्र नम्बरको गोठालो

लीलानाथ शर्मा (घिमिरे) धेरै वर्षदेखि शिक्षण पेसामा हुनुहुन्छ । उहाँ अहिले काठमाडौंको थानकोट इमाखेलस्थित मंगलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । उहाँ २०३६ सालदेखि शिक्षा दिँदै आउनुभएको छ । उहाँको जन्म सन् १९५७ सेप्टेम्बर २४ (२०१४ असोज) मा विराटनगरको टंकीसिनबारीमा भएको हो । जयप्रसाद शर्मा र सुलोचना घिमिरेका उहाँ जेठा छोरा हुनुहुन्छ । उहाँका मातापिताका पाँच छोरा र एक छोरी जन्मेका हुन् । जीवविज्ञानमा एमएस्सी गरेका लीलानाथले आफ्नो स्कुल र कलेज तहको शिक्षा दार्जिलिङमा लिनुभएको हो । करिब ४ वर्ष मोरङमा पढाएपछि उहाँ काठमाडौं उपत्यका आउनुभयो । २०४० देखि २०५३ सम्म कीर्तिपुरको टौदह राष्ट्रिय माध्यमिक विद्यालयमा प्रधानाध्यापक रहनुभयो । त्यसपछि मंगलोदयमा हुनुहुन्छ । जिल्लास्तरमा शिक्षाका लागि उहाँले धेरै सम्मान पाउनुभएको छ । भारत, बंगलादेश र भुटान भ्रमण गरेका शर्मा सानो छँदाका केही सम्झना :
मलाई अक्षर चिनाउने काम त बुबाले नै गर्नुभयो । तर मैले करिब ३ वर्षदेखि १० वर्षसम्म राजदेव ठाकुरको साथ पाएँ । उहाँ भारतको बिहार राज्य दरभंगाका हुनुहुन्छ । उहाँ हाम्रै घरमा बस्नुहुन्थ्यो । करिब सात वर्ष त उहाँ मेरो गुरु हुनुभयो । मिल्ने साथी पनि । राजदेवले नै मलाई पढाइमा खुब मद्दत गर्नुभयो ।
आफ्नै खेतमा बुबाले एउटा प्राथमिक स्कुल खोल्नुभयो । त्यो खबरले छाएको टहरो थियो । मैले पनि त्यहाँ गएर अलि दिन पढें ।
मेरा मिल्ने साथी जेठा कामी थिए । उनको नाम नै त्यही हो । पछि उनले आफ्नो नाम ‘कर्मेन्द्र दियाली’ लेखे । उनले भारतमै पढे । अहिले भारतमै जागिर खान्छन् ।
स्कुल जाँदा घरबाट आठ आना खर्च मिल्थ्यो । मलाई चार आना भए मज्जाले पुग्थ्यो । बाँकी चार आनाले म साथीहरूलाई खाजा खुवाउँथें । घरमा धेरै गाईवस्तु पालेका थिए । २ सय लिटर त दूध मात्र हुन्थ्यो । दूध बेचिन्थ्यो । पैसाको कहिल्यै कमी हुँदैनथ्यो । घरमा ११ वटा गोठाला थिए । कुनै गोठाला बिरामी हुँदा म गोठालो जान्थें । खोला तर्न च्याम्पियन थिएँ । सिंगिया त्यहाँको नाम चलेको खोला हो ।
दस वर्षको भएपछि मलाई बुबाले पढाउन दार्जिलिङ लानुभयो । मलाई सेन्ट रोबर्ट स्कुलमा भर्ना गरियो । मैले कक्षा १० सम्म त्यही स्कुलमा पढें ।
सेन्ट रोबर्ट स्कुलमा छात्र र छात्राको संख्या बराबर नै थियो । दार्जिलिङमा त छात्राहरूका मात्र पनि स्कुल थिए । तर पनि यो संख्या बराबर थियो । नेपालबाट गएर पढ्नेको संख्या प्रशस्त थियो ।
शिक्षकहरू माया गर्नुहुन्थ्यो । नराम्रो बानी भएका र नपढ्नेले सजाय पनि पाउँथे । सरसँग डरलाग्थ्यो । अहिले पनि कहिलेकाहीँ भेट्दा हात उठ्छ ।
मनबहादुर मुखिया हाम्रै स्कुलमा पढाउनुहुन्थ्यो । महेन्द्रराज चौधरी एमएस्सी सर हो । गणित पढाउने एमएस्सी सर र विज्ञान पढाउने बिएस्सी सर हुनुहुन्थ्यो । हामी उहाँहरूलाई नामभन्दा एमएस्सी सर र बिएस्सी सर भनेर चिन्थ्यौं ।
बिदा त वर्षे बिदा, दसै-तिहार एक महिना बिदा र जाडोमा तीन महिना बिदा हुन्थ्यो । एकपटक जाडो बिदामा घर आउँदा म गाईवस्तु हेर्न गएँ । आलीबाट लडेर मेरा दुवै हात भाँच्चिएका थिए । त्यतिबेलामा १०/११ वर्षको मात्र थिएँ ।
कक्षा ७ मा पढ्दाको कुरा हो । म वर्षे बिदामा विराटनगर आएँ । बिदा सकिएपछि तुरुन्त दार्जिलिङ फर्कन सकिएन । ढिला भएँ । किन ढिलो आइस् ? भनेर सरले पिट्नुभयो । हातबाट रगत नै आएको थियो ।
यहाँको एसएलसी भनेजस्तो त्यहाँ स्कुल फाइनल हुन्थ्यो । मैले स्कुल फाइनलमा सेकेन्ड डिभिजनमा पास गरें । ३६ जनाले परीक्षा दिएकामा ६ जना पास भयौं । म मात्र सेकेन्ड डिभिजनमा पास भएँ । अरु सबै थर्ड डिभिजनमा पास भएका थिए ।
परीक्षाका बेला मलाई औलो ज्वरो आयो । परीक्षा पनि दुई सिफ्ट (एकै दिनमा दुईटा परीक्षा) हुन्थ्यो । एक दिनको कुरा हो, त्यस दिन विज्ञान र भूगोलको परीक्षा थियो । विज्ञानको परीक्षामा म बेहोस भएँछु । मलाई स्ट्रेचरमा हालेर लगिएछ । होस खुल्दा म अस्पतालमा थिएँ । केहीबेर उपचारपछि म फर्किएँ । भूगोलको परीक्षा दिएँ । त्यसैले विज्ञानमा त म पास मात्र भएको । स्कुल फाइनल एक हजार पूर्णांकको थियो ।
स्कुल फाइनलमा दस विषय थिए । मैले नेपाली पढिनँ । हिन्दी पढें । हिन्दीबाहेक अंग्रेजी, गणित, विज्ञान, इतिहास, भूगोल, अर्थशास्त्र, नागरिक शास्त्र र इच्छाधीन गणित थिए । इच्छाधीन गणितमा पास नभए पनि स्कुल फाइनलमा हुने नियम थियो । प्रश्न भने कक्षा ८ देखि १० सम्म आउँथ्यो ।
हामीले स्कुलमा पढेको विज्ञान सजिलो थियो । विज्ञानमा साधारण विषय मात्र पुस्तकमा समेटिएको थियो । त्यसैले म विज्ञानमा कमजोर भएँ । कलेजमा विज्ञानमा गाह्रो भयो ।
जाडो बिदामा मोरङ आउथ्यौं । बिदा पनि तीन महिना लामो हुन्थ्यो- डिसेम्बर, जनवरी र फेब्रुअरीको । अरू बेला त घरमा सम्झना मात्र हुन्थ्यो ।
म ठूलो हुन्जेल कहिलेकाहीँ सुतेको ओछ्यानमा राति पिसाब गर्थे । मलाई सानामा ‘ध्वाँसे’ भनेर बोलाउनुहुन्थ्यो । म बलियो थिएँ ।
घरमा हुँदा वा बिदामा घर आउँदा त गाई दुहुन्थें । कपर्दी खेलिन्थ्यो । अझ लोकगीत पनि गाइन्थ्यो । तुरुन्त गीत बनाउन सक्थें ।
कक्षामा म पहिलो, दोस्रो र तेस्रोसम्म भएँ । मसँग हेडसरका भतिजा पढ्थे । उनलाई बढी मार्क दिएर कक्षा ९ बाट १० मा जाँदा फर्स्ट बनाइयो । मलाई यो कुरा संस्कृत पढाउने म्याडमले सुनाउनुभयो, ‘तिमीले बढी मार्क ल्याएका थियौ । तर हेडसरको भतिजोलाई जिताइयो ।’ मैले भने, ‘ठीकै छ ।’ पछि स्कुल फाइनलमा म सेकेन्ड डिभिजनमा पास भएँ भने हेडसरको भतिजो थर्ड डिभिजनमा पास भयो ।
म राति अबेरसम्म पढेर बस्थें । कहिलेकाहीँ त दुई बजेसम्म बस्थें । मलाई कराएर पढ्नुपर्थ्यो । बिहान नौ बजे साइरन बज्ने चलन थियो । म त्यसबेलासम्म उठ्थें ।
मलाई गणित (म्याथ) मनपर्थ्यो । म्याथमा त म च्याम्पियन नै हो । सरले नै ब्ल्याकबोर्डमा हिसाब गर्न लाउनुहुन्थ्यो ।
एकपटक मलाई नआएको समस्या सोध्न गएँ । सरले ‘भोलि आइज,’ भन्नुभयो । म भोलि गएँ । उहाँले ‘आज फुर्सद छैन’ भन्नुभयो । चार दिनसम्म सरले के के कुरा भन्दै फर्काउनुभयो । पाँचौ दिन धाप मारेर स्याबास भन्नुभयो । उहाँले भन्नुभयो, ‘मैले तेरो टेस्ट गरेको हुँ । कुर्न सक्नु पनि राम्रो हो । तलाईं नआएरै सोधेको होस् कि त्यत्तिकै आएको होस् भनेर पनि जाँचेको हुँ ।’
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ साउन ३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment