राजेश अवाले सानो छँदा

कमिलाले टोक्यो, आथ्था

राजेश अवाले प्रसिद्ध मूर्तिकार हुनुहुन्छ । ललितपुर जिल्लाको सिञ्चाहिटीमा बस्ने अवालेका मूर्ति मुलुकका विभिन्न ठाउँ र विश्वका १४ भन्दा बढी देशमा पुगेका छन् । अहिले उहाँका करिब दुई दर्जन ठूल्ठूला मूर्ति भुटान लगिएका छन् । त्यहाँका विभिन्न राज्यमा राखिएका छन् । बैतडी र राजधानीको दशरथ रंगशालामा उहाँले सहिद दशरथ चन्दको प्रतिमा बनाउनुभएको छ । यी त साना उदाहरण मात्र हुन् । राजेशको जन्म २०११ कात्तिक ६ गते भएको हो । उहाँ कालु र लक्ष्मीमायाका छोरा हुनुहुन्छ । भारत, चीन, हङकङ, थाइल्यान्ड र भुटान भ्रमण गरेका अवाले विभिन्न सामाजिक संस्थाका सदस्य हुनुहुन्छ । उहाँले आधा दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान पाउनुभएको छ । राजेशले बनाएका विभिन्न मूर्ति धेरै चर्चित छन् । यसपटक राजेश सानो छँदाका केही सम्झना :
म कक्षा ८ मा पढ्दा नेपाली भाषा स्पष्ट बोल्न सक्दिनथें । त्यसबेला म मेरो थर ‘कुम्हा’ लेख्थे । हजुरबुबा र बुबाले पनि यही थर लेख्नुभयो । ‘कुम्हा’ भनेको के हो ? भन्ने प्रश्न उठ्यो । एकजना अलि नेपाली बोल्न जान्ने साथीले म पनि ‘कुम्हा’ हुँ । म त अवाले लेख्छु भन्यो । त्यसपछि मैले आफूलाई राजेश कुम्हाका ठाउँमा अवाले लेख्नथालें ।
मलाई बुबाले अक्षर चिनाउनुभयो । त्यसबेला ठूलो वर्णमाला थियो । त्यसैबाट अक्षर चिन्न सजिलो भयो । बुबा मलाई वर्णमाला कण्ठ गर्न लगाउनुहुन्थ्यो । वर्णमाला सकेपछि एकैचोटि उकुबहालमा गएर पढ्न थालियो । त्यहाँ कक्षा ३ मा भर्ना भइयो । १५/२० जनाको एउटा कक्षा हुन्थ्यो । टोलकै शिक्षक हुन्थे । टोलकै विद्यार्थी हुन्थे । मैले कक्षा ४ पढिनँ । एकैचोटि उही उकुबहालमा कक्षा ५ पढें ।
त्यसपछि पाटनढोकाको नवीन प्रौढ भन्ने संस्थामा पढ्न गइयो । त्यहाँ त ६/७ महिना मात्र पढियो ।
त्यसपछि मच्छिन्द्र मावि (अहिलेको नमुना मच्छिन्द्र मावि) भर्ना भइयो । त्यहाँ ग्रेड वानमा भर्ना भइएको थियो । त्यो कक्षा ६/७ बराबर हुन्थ्यो । मच्छिन्द्र माविमै कक्षा १० सम्म पढें । एसएलसी चाहिँ दिइनँ । उक्त स्कुलमा पढ्दा मेरा मिल्ने साथी धर्मानन्द शाक्य र कुलबहादुर शाक्य थिए । हाम्रा सरहरू- नारायणदास श्रेष्ठ, लक्ष्मीपूर्ण श्रेष्ठ, अनन्तमान, रामगोविन्द हुनुहुन्थ्यो ।
बिहानको स्कुल जान्थ्यौं । बिहान ६ देखि ९ बजेसम्म पढाइ हुन्थ्यो । साँझमा पनि स्कुल चल्थ्यो । साँझमा त पढाइ कम हुन्थ्यो । किनभने स्कुलछेउमै अशोक सिनेमा हल थियो । कक्षा र सिनेमा सँगै सुरु हुन्थ्यो । त्यसपछि स्कुल छाडेर विद्यार्थी हलमा पुग्थे । ५/१० पैसामा सिनेमा हेर्न पाइन्थ्यो । मैले माला सिन्हाको ‘आँखे’ सिनेमा त १८ पटकसम्म हेरें ।
मेरो पढाइ राम्रो थियो । विज्ञान, गणित र पञ्चायतमा सबभन्दा राम्रो थियो । यी विषयमा ‘फुल मार्क’ आउँथ्यो । अरूमा ठीकै मात्र थियो । अंग्रेजीमा म कमजोर थिएँ । मलाई अंग्रेजीमा ‘टेन्स’ ले अल्माल्याउँथ्यो ।
स्कुलमा कडा अनुशासन हुन्थ्यो । विद्यार्थी बदमासी गर्न थालेका थिए । सर कक्षाबाट निस्कँदा सरकै पछिपछि बाहिर निस्कन्थे ।
स्कुलमा उत्तिको खेलकुद थिएन । स्कुल-ड्रेस हुँदैनथ्यो । कपडाको चप्पल लाइन्थ्यो । किताब हातमा बोकेर गइन्थ्यो । खाली पढाउने काम मात्र हुन्थ्यो । अरू मनोरञ्जन हुँदैनथ्यो ।
गाईजात्रामा भने निकै रमाइलो हुन्थ्यो । एक सातासम्म मुकुन्डो लगाएर जोक्स भन्ने चलन थियो । सडकनाटक पनि देखाइन्थे ।
मेरो मामाघर ट्यागलमा हो । सानो छँदा म धेरै मामाघर जान्थें । मामाघरमा रमाइलो हुन्थ्यो । त्यहाँ एउटा चोक थियो । चोकमा हामी केटाकेटी भेला भएर खेल्थ्यौं । चाडपर्वमा म प्रायः मामाघर पुग्थें ।
एसएलसी नदिएपछि म नाटकमा खेल्न थालें । मैले खेलेका नाटक ‘व्यवस्थाइ पखः’ (व्यवस्थाको पर्खाल), ‘झावे’ (अर्धपागल) र ‘जिगु देश’ (मेरो देश) थिए । म जहिले पनि केटीको अभिनय गर्थें । मलाई सिंगारेर केटी बनाइन्थ्यो । म पहिलो नाटकमा धर्ती, दोस्रोमा छाया र तेस्रोमा सुस्मा भएर खेलेको थिएँ ।
एकपटकको कुरा हो । बाजेसँग म हाँस चराउन गएको थिएँ । बाजे आफ्ना साथीहरूसँग गफ गर्न थाल्नुभयो । सानो कुलो थियो । त्यहाँ एउटा पोखरी थियो । पोखरीलाई ‘भैल पोखः’ (भैरव पोखरी) भनिन्थ्यो । त्यही पोखरीमा हाँस पौडन थाले । मैले ‘हाँसका बच्चा यसरी पौडन सक्छन् भने म पनि डुब्दिनँ । म पौडन सक्छु’ भन्ने सोचेर पोखरीमा पसें । म त डुबें । म डुबेको देखेर बाजे आउनुभयो र तान्नुभयो । म बाँचें ।
अर्को एउटा घटना छ । हामी खेतमा रोपाइँ गर्न गएका थियौं । मचाहिँ आलीमा बसेको थिएँ । एउटा कमिला आयो । मैले बूढीऔंलाले थिचेर मारें । पछि अर्को आयो । बूढीऔंलाबाट चढ्यो । अरू पनि आए, खुरुखुरु जीउभर फैलिए । शरीरभर कमिला भएपछि म कराएँ । बुबाले झार्नु त भयो । तर कमिलाले धेरै टोके । शरीरभर फोका भए । मेरो शरीर खुब सुन्नियो ।
बाजेका धेरै सन्तान बाँचेनन् । छोरामा बुबामात्र बाँच्नुभयो । एउटा मात्र छोरालाई हजुरबुबा सानु कुम्हाले काम गर्न दिनुभएन । तर हजुरबुबा बूढो भएपछि २२ वर्षका बुबाले काम सिक्ने प्रयास गर्नुभयो । मूर्तिको काम थाल्नुभयो ।
मैले पनि मूर्ति बनाउन बुबासँगै सिकें । उहाँका पछि लाग्दालाग्दै म पनि मूर्तिकार भए । हजुरबुबा सानु कुम्हाको प्रेरणा र बुबा कालु अवालेका साथले म अहिले यहाँ आइपुगें ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ असार २७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment