डा. बेन्जामिन स्पोकलाई सम्झँदा

विश्वभरका बालबालिकालाई माया गर्ने मान्छे

डा. बेन्जामिन म्याकलेन स्पोक अमेरिकी चिकित्सक हुनुहुन्थ्यो । डा. स्पोक बालबालिकाका चिकित्सक हुनुहुन्थ्यो । उहाँको जन्म सन् १९०३ मे २ मा कनेक्टिकट राज्यको न्युहेभनमा भएको थियो । उहाँले लेखेको ‘बेबी एन्ड चाइल्ड केयर’ नामक पुस्तक संसारभर प्रसिद्ध छ । अमेरिकामा इसाई धर्म मान्नेहरूको पवित्र ग्रन्थ ‘बाइबल’ पछि साहित्यिक कृतिबाहेकमा बढी बिक्री भएको पुस्तक पनि ‘बेबी एन्ड चाइल्ड केयर’ नै हो । उक्त पुस्तक पहिलोपटक सन् १९४६ मा छापियो । पहिलोपटक प्रकाशित हुँदा पुस्तकको नाम ‘द कमन सेन्स बुक अफ बेबी एन्ड चाइल्ड केयर’ थियो । तर पछि ‘बेबी एन्ड चाइल्ड केयर’ ले मात्र चिनियो । उक्त पुस्तक ३९ भाषामा अनुवाद गरिएको छ । सन् १९९८ सम्म उक्त पुस्तक ५ करोड प्रति बिकिसकेको पाइयो । उक्त पुस्तककै कारण उहाँको नाम चल्यो । धेरै धनी पनि हुनुभयो । उहाँले अन्य पुस्तकहरू पनि लेख्नुभयो । सन् १९७० मा छापिएको ‘राइजिङ चिल्ड्रन इन डिफिकल्ट टाइम’ उहाँको अर्को पुस्तक थियो । यो पुस्तकमा लागूऔषधजस्ता समस्याबारे लेखिएको थियो । तर अरू पुस्तक ‘बेबी एन्ड चाइल्ड केयर’ जति प्रख्यात भएनन् । ‘बेबी एन्ड चाइल्ड केयर’ ले बाबुआमा साथै बसेका वा छुट्टिएका भए पनि मद्दत गर्छ । यसमा बालबालिकालाई के भए ? कसो गर्ने ? के गर्दा ? के के हुन्छ ? जस्ता समस्यादेखि घरेलु उपचारका उपाय पनि सिकाइएको छ ।
बच्चा रोयो भन्दैमा च्यापी हाल्नुहुन्न, ऊ पुल्पुलिएर बिग्रन्छ- यस्ता अनेकन कुरा उहाँको उक्त पुस्तकमा पढ्न पाइन्छ ।
उहाँ बालबालिकालाई असल नागरिक बनाउनुपर्छ भन्नुहुन्थ्यो । त्यसैले हप्काउने, गाली गर्ने मानिसको विरोध गर्नुहुन्थ्यो । ‘गाली गर्नुभन्दा सहयोग माग्नु राम्रो’ भन्नुहुन्थ्यो । ‘नम्र भएर बोल्नुपर्छ’ भन्नुहुन्थ्यो ।
उहाँको निधन सन् १९९८ मार्च १५ मा भयो । उहाँको निधन ९४ वर्षको उमेरमा क्यालिफोर्नियाको ला-जोल्लामा भएको हो । अझैं पनि बच्चा हुर्काउन उहाँको पुस्तक अमेरिकालगायत विश्वका धेरै देशमा सहयोगी छ ।
उहाँ खेलाडी पनि हुनुहुन्थ्यो । उहाँले सन् १९२४ को पेरिस ओलम्पिकमा डुंगादौडमा स्वर्ण पदक पनि पाउनुभएको थियो ।
उहाँका बुबा एउटा रेलवे सेवामा कानुनीसेवी (वकिल) हुनुहुन्थ्यो । आमा भने घरको काम हेर्नुहुन्थ्यो । उहाँका बुबाआमा कडा स्वभावका हुनुहुन्थ्यो । उहाँले एकपटक भन्नुभएको थियो, ‘मैले आफ्ना बुबाआमालाई कहिल्यै चुम्बन गरिनँ । तर म मेरा छोरा देख्नेबित्तिकै अँगालो हाल्न हात फैलाइहाल्छु ।’ उहाँका दुई छोरा छन् । बुबाआमा कडा भए पनि उहाँ भने नम्र स्वभावका हुनुभयो ।
उहाँपछि घरमा पाँच भाइ-बहिनी जन्मे । बुबा-आमा भने उहाँले भाइ-बहिनी हुर्काउन मद्दत गर्नुहुन्छ भन्ने सोच्नुहुन्थ्यो, उहाँले पनि तिनलाई हुर्काउन मद्दत गर्नुभयो । उहाँ भाइ-बहिनीको कपडा फेरिदिनुहुन्थ्यो । खाना खुवाउनुहुन्थ्यो । यस्तै ज्ञानले गर्दा ठूलो भएर बालबालिकाका चिकित्सक हुन मद्दत पुगेको हो ।
एकपटक अपांग नानीहरूका लागि काम गरेपछि उहाँले सधैंका लागि बालबालिकाका लागि काम गर्ने निधो गर्नुभयो । त्यसपछि त्यही विषय पढ्नुभयो ।
आजीवन बालबालिकाको विकासमा लाग्नुभयो । अझै पनि उहाँलाई अमेरिकालगायत उहाँका पुस्तक पढ्ने सबैले सम्झन्छन् ।
(शब्द : राजेश कोइराला, सामग्री तथा तस्बिर : विभिन्न वेबसाइट, २०६५ असार १३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment