नरबहादुर लिम्बू सानो छँदा

टाइफाइडले यहाँ ल्याइपुर्‍यायो

नरबहादुर लिम्बू नेपाल नेत्रहीन संघका अध्यक्ष हुनुहुन्छ । उहाँ एसियन ब्लाइन्ड युनियनका सदस्य पनि हुनुहुन्छ । उहाँ सानैमा बिरामी भएर दृष्टिविहीन हुनुभएको हो । उहाँको जन्म २०२० असार ३० गते तेह्रथुम जिल्लाको मोराहाङ गाउँ विकास समिति १ सल्लेरीमा भएको हो । उहाँका पिताको नाम रामबहादुर (सुकवाल/मांग्बा) र माताको नाम हस्तमाया हो । उहाँ एउटै छोरा हो । उहाँका तीन दिदी जन्मेका हुन् । एमए, बिएड गरेका लिम्बू पिएचडी गर्दै हुनुहुन्छ । उहाँको ‘माटोको चित्कार’ कवितासंग्रह प्रकाशित छ । उहाँले गीत लेख्नुभएको छ । गाउनु पनि भएको छ । उहाँको एउटा चर्चित बालगीत यस्तो छ :
फुल फुल्यो रेलिमाई आँगनै भरि
डुल्छ हावा रेलिमाई बासना बोकेर
उहाँ विभिन्न देशमा भएका सभा-सम्मेलनमा सहभागी हुनुभएको छ । विभिन्न संस्थासँग आवद्ध उहाँले थुप्रै पुरस्कार र सम्मान पाउनुभएको छ । यसपटक लिम्बू सानो छँदाका केही सम्झना :
मोराहाङ राम्रो ठाउँ हो । यो ताङमाया र खुरुवा खोलाबीचको फाँट हो । त्यहाँ माघे संक्रान्तिमा माघेनी मेला लाग्थ्यो । खेती ठिकै हुन्थ्यो । जंगलबाट डरलाग्दा जनावर पनि आउँथे । सल्लाघारीहरूमा डुलिन्थ्यो । ठूला र तीनतले ढुंगासमेत देखिन्थे । त्यहाँ लिम्बूको ‘पालम’ गाइन्थ्यो । हाम्रो घरभन्दा माथि सबै लिम्बूका घर थिए । तल सबै ब्राह्मणका घर थिए । कति मिलेको समाज थियो ।
परिवारमा बुबाले पाथिभरा देवीकहाँ पूजा गरेर म जन्मेको विश्वास गरिन्थ्यो । तर म डेढ वर्षको हुँदा बुबाको निधन भयो । आमा र दिदीहरूलाई घर चलाउन गार्‍हो भयो ।
सात वर्षको हुँदा मलाई टाइफाइडले सतायो । ज्वरो तीन महिना आइरह्यो । ज्वरो रोकिएको भए, निको हुन्थ्यो । उपचार गर्ने उपाय थिएन । ज्वरोले छाड्यो । मेरा आँखा सधैंका लागि बिग्रिए । विराटनगरमा आँखा जचाउने स्वास्थ्य शिविर बसेको सुन्यौं । खर्च नभएर त्यहाँ पुग्न सकिएन । खेतीले मात्र घर चल्दैनथ्यो । आमालाई अलि चिन्ता परेको थियो । त्यहि पीरले म ९ वर्षको हुँदा आमाको पनि निधन भयो ।
आमाको निधन हुँदा एउटी दिदीको बिहे भइसकेको थियो । अर्की दिदी अर्काको घरमा काम गर्न थाल्नुभयो । म ठूलो बुबाको घरमा बस्थें । उहाँहरूको पनि अवस्था राम्रो थिएन । एघार वर्षको हुँदासम्म धेरै दुःख भयो ।
आफूले नदेख्दा पनि म अरुका बच्चा हेर्थे । हाटबजार र मेला जान्थे । प्राथमिक र माध्यमिक विद्यालय थिए । तर टाढा भएकाले पुग्न गार्‍हो हुन्थे । जान सक्ने ठाउँमा थिए भने त म सुनेर पनि धेरै जान्ने हुन्थें । त्यो मौका मिलेन ।
आठ/नौ वर्षको हुँदा कान्लामा गएर घाँस काट्थे । एकपटक बारुलाले टोकेर औंला सुन्निए । अर्को पटक असिना पर्‍यो । आँखा नदेख्नाले भाग्न सकिन । घाँसको भारी झनै गह्रौं भयो । पानी लिन जान्थें । पानी लिन उकालो-ओरालो आधा घण्टा हिड्नुपर्थ्यो । ठूलो बुबाको घरको पालीमा पिङ लगाएँ । पाली नै झर्‍यो । ठूलो बुबाको छोरा (दाई) मातेर आउनुहुन्थ्यो । त्यो दिन पनि मातेर आउनुभयो । पाली भत्काएको डरले म कान्लामा गएर रात बिताएँ । भोलिपल्ट अलिअलि गालीमात्र गर्नुभयो ।
मेरो दुःख सबैले देखेका थिए । २०३१ सालमा बालमन्दिर उद्घाटन गर्न रत्न शाह त्यहाँ जानुभएको थियो । तत्कालीन प्रधानपञ्च देवीबहादुर तुम्बाहाम्फेले मेराबारेमा रत्नलाई बताइदिनुभयो । त्यहि साल माघमा मलाई काठमाडौं ल्याउन रत्नले एक हजार रुपैयाँ पठाउनुभएको कुरा सुनेको थिएँ । विराटनगरबाट अञ्चलाधीशले खबर पठाएछन् । तेह्रथुमबाट कैदी ल्याउँदा मलाई पनि ल्याइयो । मलाई धनकुटा, धरान हुँदै विराटनगर पुर्‍याइयो । म विमान चढेर काठमाडौं आएँ ।
म जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रमा कक्षा ४ मा भर्ना भएँ । कक्षामा पहिलो भएँ । त्यसैबीच बेत र बाँसको तालिम पनि लिएँ । अक्षर चिन्न थालेपछि मज्जा भयो । कविता मुखले फररर भन्थें । छोटा कविता भने पनि लामा चाहिं ब्रेल लिपि जान्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।
एकपटक प्रमाणपत्र बाँढ्न शान्ति सिंह आउनुभएको थियो । मैले लेब्रोटरी स्कुलमा पढ्छु भनी आग्रह गरें । उहाँ निसहाय सेवा समितिको अध्यक्ष हुनुहुन्थ्यो । २०३६ सालदेखि मैले लेब्रोटरी स्कुलमा पढें । मलाई कक्षा ५ मा पढ्छु भने । तर कसैले मेरो कुरा सुनेन । तयारी कक्षा हुन्थ्यो । मैले कक्षा लिएँ । मेरो पढाई राम्रो भएको देखेर सरमीसहरूले एकैपटक कक्षा ६ मा पढ भन्नुभयो । मैले कक्षा ८ पढ्छु भने उहाँहरूले भर्ना गरिदिनुभयो । मैले कक्षा ८ मा पनि राम्रो गरें । हामीलाई मात्र हेर्ने ‘दृष्टिविहिन शाखा’ थियो । घर टाढा भएकाले छुट्टिमा म जोरपाटी जान्थें । खगेन्द्र नवजीवन केन्द्र र लेब्रोटरी स्कुलले मलाई छुट्टिमा राख्ने बन्दोबस्त मिलाएका थिए । मैले लेब्रोटरी स्कुलबाट एसएलसी दिएँ । फर्स्ट डिभिजनमा पास गरें । लेब्रोटरी स्कुलमा मलाई शशिकला सिंह मिस, गीतकार कृष्णहरि बराल, माया शाक्य धेरै माया गर्नुहुन्थ्यो । घर टाढा छ भन्ने लागेर शशिकला सिंह मिस त बेलाबेला खर्च दिनुहुन्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ असार ६ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment