नन्दकाजी श्रेष्ठ सानो छँदा

गुच्चा खेल्दै र पांग्रा गुडाउँदै

नन्दकाजी श्रेष्ठ राजधानीको कालिमाटीस्थित जनप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । कक्षा ४ देखि कक्षा १० सम्मका विज्ञानको पुस्तकको परिमार्जनमा उहाँ संलग्न हुनुहुन्छ । उहाँले २०३१ सालदेखि शिक्षण गराउन थाल्नुभएको हो । २०३७ सालमा सहायक प्रधानाध्यापक हुनुभयो । २०५७ मंसिरदेखि उहाँ उक्त विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । उहाँको जन्म २००६ साल साउनमा काठमाडौंको भीमसेनस्थानमा भएको हो । पिता बाबुकाजी र माता अष्टमायाका सात सन्तान जन्मे । उहाँ जेठो छोरा हो । उहाँहरू पाँच दाजुभाइ र दुईबहिनी जन्मनुभएको हो । बीएस्सी, बीएड गरेका श्रेष्ठले विद्यालयस्तरका लागि अन्य केही पुस्तक पनि लेख्नुभएको छ । उहाँले जिल्लास्तर, राष्ट्रियस्तरमा पुरस्कार र आफ्नै विद्यालयबाट दीर्घसेवा पदक पाउनुभएको छ । यसपटक श्रेष्ठ सानो छँदाका केही सम्झना :
हामीलाई पढाउने काम बुबाले गर्नुभएको हो । काका जुजुकाजीले इन्द्रचोकस्थित नेपाल आदर्श स्कुलमा केही समय पढाउनुभयो । उहाँले पनि हामीलाई घरमा ‘गाइड’ गर्नुभयो । मैले अक्षर चिन्ने काम घरमै गरें । पहिलेपहिले काठको फल्याकमा रातो माटोले पोतेर खरिले लेखिन्थ्यो । त्यसपछि सिलेटमा लेखियो ।
हजुरबुबा र बुबा दुवै कविराज हुनुहुन्थ्यो । बुबा आयुर्वेदको उपचार गर्नुहुन्थ्यो । बुबा मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो । त्यसैले म विज्ञानमा बढी चासो राख्ने विद्यार्थी भएँ ।
घरमा अक्षर चिन्ने मात्र भएन । कक्षा ३ सम्मको पढाइ घरमै भयो । कक्षा ४ मा ताहाचलस्थित आधार स्कुलमा भर्ना भइयो । भर्ना हुन शुल्क तिर्नुपर्दैनथ्यो । पढाइ राम्रो थियो । दिउँसोको खाजासमेत स्कुलमै खान पाइन्थ्यो । त्यहाँ मैले कक्षा ८ सम्म पढें ।
आधार स्कुलमा सजाय दिने चलन थियो । त्यहाँ पूर्णरत्न शाक्य हेडसर हुनुहुन्थ्यो । गल्ती गर्दा उहाँले सजाय दिनुहुन्थ्यो । राम्रो गर्दा स्याबासी पनि दिनुहुन्थ्यो । खाली पिरियडमा आउनुहुन्थ्यो । बेन्चमा उभ्याउनुहुन्थ्यो । सबैलाई हाँस्न लगाउनुहुन्थ्यो । हाँस्दा सबैको स्वास्थ्य राम्रो हुन्छ भन्ने उहाँको मान्यता थियो ।
कक्षा ९ देखि भीमसेनस्थानकै परोपकार स्कुलमा पढें । त्यसैको विद्यार्थीका रूपमा एसएलसी दिएँ । समाजमा छोरी पढाउने चलन नभए पनि बुबाले दिदी र बहिनीलाई पढाउनुभयो । म र दिदी कक्षा ४ देखि १० सम्म सँगै पढ्यौं । मैले सेकेन्ड डिभिजनमा पास गरें भने दिदीले थर्ड डिभिजनमा पास गर्नुभयो । विद्यालयबाट २६ जनाले एसएलसी दिएकामा २४ जना पास भएका थियौं । हाम्रो परिक्षाकेन्द्र शान्ति विद्यागृहमा परेको थियो । एसएलसीको सिम्बोल नम्बर मलाई अझै याद छ- १३४३ क्यू । ९ सय पूर्णांकको परीक्षा हुन्थ्यो । नेपाली र नेपाल भाषामध्ये एक विषय छान्न पाइन्थ्यो । मैले नेपाल भाषा छानेको थिएँ ।
सानो कक्षाका किताब त भारतबाट छापिएर आएका हुन्थे । कक्षा ८ मा पुग्दा नेपालमा छापिएका किताब पढ्न पाइयो ।
आधार स्कुल र परोपकार स्कुल दुवैमा एक-तिहाइ छात्रा थिए । एसएलसीमा ३ जनाले मात्र परीक्षा दिए ।
हामी जानुअघि परोपकार स्कुलमा अनाथ मात्र पढ्थे । पछि सबै खाले विद्यार्थी पढ्न थालेपछि हामी पढ्न गएका हौं ।
हामी सानो छँदा मनोरञ्जनका साधन थिएनन् । गुच्चा खेल्ने र पांग्रा गुडाउने गरिन्थ्यो । टिफिन खान दिएको ५/१० पैसाले हाम्रालागि खुसी ल्याउँथ्यो । आलु उसिनेको र बिस्कुट किनेर खान्थ्यौं ।
म ७/८ वर्षको हुँदा हिन्दी चलचित्र हेरेको थिएँ । अहिलेजस्तो पत्रपत्रिका थिएनन् । एकजना छिमेकी साहुको पसलको विज्ञापन सिनेमाहलमा स्लाइड देखाएर गरेको थियो । विज्ञापन गरेबापत दुइटा टिकट सित्तैमा पाएका थियौं । दिदी र म जनसेवा हलमा सिनेमा हेर्न गयौं । मैले पाइजामा लगाएको थिएँ । कहाँ अल्झीएछु । म त लडें । त्यसबेला लागेको निधारको घाउको दाग अझै छ । अनि धेरै ठूलो भएपछि ‘द मेसिन अफ डेन्जर’ नामक अंग्रेजी चलचित्र हेरेको मलाई सम्झना छ ।
दसैं सबभन्दा रमाइलो चाड हुन्थ्यो । सानोमा नयाँ लुगा लगाउन पाउनु नै ठूलो कुरा हुन्थ्यो ।
मेरो मामाघर भक्तपुरको कोलाछे हो । मामाघर कहिलेकाहीँ गए पनि रात बिताइएन । भक्तपुर जान गाडी चल्थ्यो । एक मोहर र पछि ५५ पैसामा भक्तपुर जान भाडा तिर्नुपर्थ्यो । मामाघरनजिकमा सिनेमाहल थियो । त्यहाँ गएर गाना सुनिन्थ्यो ।
एकपटक कौसीमा राखेको सूर्यनारायण देउता मैले कुल्चेछु । बुबाले मलाई पिट्नुभयो । मलाई एक सय चार डिग्री ज्वरो आयो त्यसपछि कहिल्यै पिट्नुभएन ।
स्कुल पढ्दाका साथीहरू प्रवीणमान शाक्य, राजेशराज दली हुन् । सरहरू- पूर्णरत्न शाक्य, श्रीमती मानन्धर, कुमारबहादुर जोशी, आनन्दमान शाक्य, बागेश्वरानन्द वज्राचार्य, हितवीरसिंह कंसाकार हुनुहुन्थ्यो ।
मन्त्री नारदमुनि थुलुङका चालक कृष्णदास मानन्धर हाम्रै काकासरह हुनुहुन्थ्यो । एकपटक मन्त्रीको गाडी चढेर हामी पनि सिनेमा हेर्न गएका थियौं ।
पुरानो काठमाडौंमा यसरी नै हाम्रो बाल्यकाल बितेको थियो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ जेठ ३१ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment