श्रीराम लामिछाने सानो छँदा

कक्षा ७ सम्म भट्टराई

श्रीराम लामिछाने नेपाल स्काउटका प्रमुख-आयुक्त हुनुहुन्छ । केटा-स्काउटबाट प्रमुख आयुक्त हुने उहाँ पहिलो हुनुहुन्छ । नेपाल स्काउटअन्तर्गत मुलुकभर लाखौं विद्यार्थी सदस्य छन् । देशका धेरै स्कुलमा स्काउटका क्रियाकलाप हुने गरेका छन् । यसैगरी उहाँ नेपालका लागि लक्जेम्वर्गका अवैतनिक महावाणिज्यदूत पनि हुनुहुन्छ । लामिछाने नेपाल-अस्ट्रेलिया मैत्री समाजका अध्यक्ष हुनुहुन्छ । उहाँको जन्म २००८ साल कात्तिकमा पर्वत जिल्लाको कुस्मामा भएको हो । उहाँका पिताको नाम गंगाधर र माताको नाम तुलसी हो । उहाँहरू आठ दाजुभाइ र दुई दिदीबहिनी जन्मनुभएको हो । श्रीराम काहिँलो छोरा हो । उहाँले ललितपुरको आदर्श विद्याश्रममा पहिले शिक्षकका रूपमा र पछि भाइस प्रिन्सिपलका रूपमा काम गर्नुभयो । पर्यटनका क्षेत्रमा केही वर्ष अनुभव सँगाल्नुभयो । उहाँले विश्वका थुप्रै देश भ्रमण गर्नुभएको छ । उहाँले देश र विदेशमा विभिन्न सम्मान पाउनुभएको छ । यसपटक लामिछाने सानो छँदाका सम्झना :
म जन्मदा मलाई मूलपरेको भनियो । मूलपरेकाले ‘बाबुआमा खान्छ’ भन्ने चलन थियो । मलाई गाईको मुखबाट जन्माएर सानैमा मामाघर पठाइयो । म त्यहीँ बसें, त्यहीँ हुर्के । मामाघरमा केटाकेटी जन्मेका थिएनन् । म साह्रै प्यारो भएर बसें । ५/७ वर्ष मामाघर बसें । त्यसपछि घर फर्के ।
एकपटकको कुरा हो । संयोग भयो । म त काठमाडौं आउन पाउने भएँ । कसरी होला ?
मेरा फुपाजूका दाइ कलानिधि पौडेल काठमाडौंमा जागिर खानुहुन्थ्यो । उहाँका साथ लगाएर साहिँला दाजुलाई काठमाडौं पठाउन लागिएको रहेछ । भोलिको साइत नभएकाले आजै पल्लाघरमा पाइतो सारेको रहेछ । दाजु भने पर्खालमा चढेर ‘म जान्न । म जान्न,’ भनेर रोइरहनुभएको थियो । मलाई उहाँले, ‘तँ जान्छस् त ?’ भन्नुभयो । म सानै थिएँ । बालापन थियो । फ्याट्ट, ‘जान्छु,’ भने । अनि त म काठमाडौं पो आएँ ।
काठमाडौंमा बुबाको अलि टाढाकी फुपूका छोरा खगेश्वरदास वैष्णव बसेका ठाउँमा मलाई ल्याइएको थियो । उहाँ महन्थ हुनुहुन्थ्यो । उहाँको चेला बनाउने र संस्कृत पढाउने त्यसबेला सोचिएको थियो ।
हामी कुस्माबाट हिँडेर दुई दिनमा पोखरा आइपुग्यौं । पोखरा आइपुग्ने बेलामा हेम्जा भन्ने ठाउँमा एउटा घरको पिँढीमा अनौठो देखियो । त्यहाँ एउटा यन्त्र थियो । मैले सोधें, ‘यो के हो ?’ उहाँले भन्नुभयो, ‘साइकल हो ।’ मैले फेरि सोधें, ‘यसले के गर्ने ?’ उहाँले भन्नुभयो, ‘चढ्ने हो ।’ पर्वतमा त्यतिबेला साइकल हुन्नथ्यो । मामाघरमा पनि थिएन । म गाउँले बालक थिएँ ।
यसरी अनेकन प्रश्न-उत्तर गर्दै हामी पोखरा पुग्यौं । त्यहाँबाट हवाईजहाज चढेर काठमाडौं आयौं । त्यसबेला एकजनाको हवाई भाडा ३० रुपैयाँ थियो । उक्त हवाईयात्रा मेरा लागि पहिलो थियो । अनौठो थियो ।
काठमाडौं आएको पहिलो रात हामी नेता भरत शमशेरको घरमा बास बस्यौं । कलानिधि पौडेलले भरत शमशेरलाई चिन्नुभएको रहेछ । भरत शमशेरको साना छोरा थिए । ती बालकले मतिर बन्दुक तेर्स्याएर ‘मारिदिऊँ’ भने । म त डराएँ । तर त्यो प्लास्टिकको बन्दुकको पो रहेछ ।
अर्को दिन मलाई खगेश्वरदास भएका ठाउँमा लगियो । बुबाआमाका धेरै सन्तान भए । पाल्न कठिन भयो । एउटा सन्तान पाल्न म सघाउँछु भनेकाले मलाई काठमाडौं ल्याइएको रहेछ ।
मैले कुश्मामै अक्षर चिनेको थिएँ । गुरु हुनुहुन्थ्यो । उहाँलाई पैसा होइन । सिदा दिनुपर्थ्यो । उहाँले पढाउनुहुन्थ्यो ।
खगेश्वरदासले मलाई पाटन स्कुलमा भर्ना गर्न लानुभयो । म कक्षा ५ मा भर्ना भएँ । कक्षा ५ मा भर्ना हुन सक्ने त म पर्वतमै भएको रहेछु । सरले मलाई भाग गर्न दिनुभयो । मैले गरेँ ।
भर्ना गर्दा खगेश्वरदासले मेरो नाम ‘श्रीराम भट्टराई’ लेखाइदिनुभयो । म सानैमा मामाघर गएको र उहाँले पनि सानैमा घर छाड्नुभएकाले मेरो थर दुवैलाई थाहा थिएन । उहाँले मेरो थर भट्टराई हो भन्ने ठान्नुभएछ ।
म खगेश्वरदाससँग शंखमुलमा बसेको थिएँ । त्यहाँबाट स्कुल पुग्न २० मिनेट लाग्थ्यो । मैले त्यही स्कुलबाट कक्षा ७ पास गरें । त्यहाँ कक्षा ५/६ मा पढ्दा एकजना सर मलाई यसरी हप्काउनुहुन्थ्यो :
भट्ट भट्टराई कुखुरा चोर
खान नपाई भित्ता फोर
एकपटक जाँचमा साथीले मेरो हिसाब सारेछ । दुवैले ‘रुलर’ ले पिटाई खायौं । सरहरू कडा हुनुहुन्थ्यो ।
त्यसपछि २०२० सालमा बुबा चितवन आउनुभएको थियो । तराई सर्न त्यता आउनुभएको हो ।
म कक्षा ७ पास गरेर त्यहाँ गएको थिएँ । कक्षा ७ पास गरेको सर्टिफिकेट देखाएँ । बुबाले भन्नुभयो, ‘तैले यो कसको प्रमाणपत्र ल्याइस् ?’ मैले भने, ‘मेरै हो ।’ बुबाले फेरि सोध्नुभयो, ‘यहाँ त श्रीराम भट्टराई लेखेको छ । हामी त लामिछाने हौं ।’ त्यसपछि म काठमाडौं फर्के ।
कक्षा ८ पढ्न त्रिपद्म स्कुल भर्ना भएँ । अनि मेरो नाम श्रीराम लामिछाने भयो ।
कक्षा ८ मा पढ्दा मलाई स्काउट हुन मन लाग्यो । युनिफर्म, ब्याच आदि किन्न २४ रुपैयाँ चाहिन्थ्यो । मैले खगेश्वरदाससँग मागें । उहाँले त्यो दिनुभएन । मलाई ल्याएर संस्कृत पढाउने र उहाँकै चेला बनाउने इच्छा थियो । म अंग्रेजीको छात्र भएँ । त्यसै पनि उहाँलाई चित्त नबुझेको हुनुपर्छ । त्यसैले पैसा पाइँन । मैले दुई दिन खाना खाइँन । छिमेकीहरूले कर गरें । उहाँलाई सम्झाए । त्यसपछि मात्र मैले पैसा पाएँ र स्काउट भएँ ।
स्काउटमा हुँदा जातपात, वर्णभेद हुँदैनथ्यो । साथीहरू सबै घरबाट खाजा ल्याउँथे । पत्रिकामा सबै खाजा मिसाइन्थ्यो । सबै गोलो घेरा हालेर खाइन्थ्यो । तर घर फर्केपछि म महन्थसँग थिएँ । घरमा म बाहुनको छोरो हुन्थें ।
मैले २०२३ सालमा एसएलसी दिएँ । पाटन स्कुलमा परीक्षाकेन्द्र थियो । त्यसबेला इतिहास, अंग्रेजी, नेपाली, गणित, भूगोल, नागरिकशास्त्रजस्ता विषय थिए । एसएलसीमा निरिक्षक बस्नेको फूर्ति देख्दा म अझै अनौठो ठान्छु । पाटन स्कुलका हेडसरका छोरा हाम्रोमा निरिक्षक थिए । पुक्क परेर ठूलो मान्छे हुँ भनेझै गर्थे ।
मैले तेस्रो श्रेणिमा उत्तीर्ण गरेको हुँ । गणितमा म कमजोर थिएँ । गणितमा ठिक्क पासमात्र भएँछु । कसरी पास भइयो ? अनौठो लाग्छ । टुकी बालेर पढ्नुपर्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ जेठ १० मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment