राजेश्वर नेपाली सानो छँदा

खल्तीमा सन्देश

राजेश्वर नेपाली धेरै वर्षदेखि जनकपुरमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । पत्रकार महासंघको पछिल्लो महाधिवेशनमा उहाँलाई ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरियो । उहाँको जन्म २००२ साल भदौ १९ गते धनुषाको बिन्धी गाविस, बेलाग्राममा भएको हो । साहका पिताको नाम रामदुलार साह र माताको नाम इन्द्रमणिदेवी साह हो । उहाँहरू तीन दाजुभाइ र तीन दिदीबहिनी जन्मनुभएको हो । राजेश्वर माहिलो छोरा हो । साहले त्रिभुवन विश्वविद्यालयबाट ‘एमए’ सम्म अध्ययन गर्नुभएको छ । पटकपटक जेल परेका साहले राजनीति गरेका कारण पटकपटक भारतमा निर्वासित जीवन बिताउनुपरेको थियो । साह राजनीति र पत्रकारिताका क्षेत्रमा निकै सम्मानित हुनुहुन्छ । उहाँ समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँले लेखेका विभिन्न विषयमा छ पुस्तक प्रकाशित छन् । उहाँले आधा दर्जनभन्दा बढी पुरस्कार र सम्मान पाउनुभएको छ । यसपटक साह सानो छँदाका केही सम्झना :
बुबा उत्तिको पढेलेखेको मान्छे हुनुहुन्नथ्यो । उहाँ साधारण अक्षर चिन्नुहुन्थ्यो । उहाँले रामायण, महाभारत पढेको हामी देख्थ्यौं । अंकगणितको ज्ञान थियो । राजनीतिमा चासो दिनुहुन्थ्यो । भारतको मुजफ्फरपुर गएर महात्मा गान्धीलाई भेट्नुभएको थियो । गान्धीलाई भेटेर फर्केपछि उहाँ खादीका कपडा लाएर आउनुभयो । जनकपुरमा भएका राणाविरोधी आन्दोलनमा सक्रिय भएर लाग्नुभयो । यसको प्रभाव मलाई पनि पर्‍यो । जानी नजानी म पनि आन्दोलनकारीलाई सघाउँथें ।
मलाई पढाउनका लागि दाजु निरञ्जनप्रसाद साहको सबभन्दा धेरै जोड थियो । उहाँले मिडिल स्कुलसम्म पढ्नुभएको थियो । त्यसैगरी काका राजनन्दन साहले पनि जोड गर्नुभयो । काकाले थोरै पढ्नुभएको थियो ।
गाउँमा स्कुल थिएन । पढाउन इच्छा गर्ने दाजु र काकालाई अप्ठ्यारो पर्‍यो । जनकपुरमा सरस्वती हाई स्कुल खुलेको थियो । तर टाढा भयो ।
अक्षर त घरमै सिकियो । अझ दुई एकान दुई, दुई दुना चार… घरमा घोकियो । त्यसपछि जनकपुर वडा नं. ७ मा रहेको रामजानकी मन्दिरमा पढ्न गयौं । हामी भुइँमा बस्थ्यौं । अक्षरभन्दा पनि हामीलाई ‘श्रीराम गति देहु सुमति’ भन्ने श्लोक घोकाएर पढ्न सिकाइयो । खरानी रङको माटो र चुना मिसाएर ‘खल्ली’ बनाइन्थ्यो । त्यही खल्लीले काठको फल्याकमा लेखिन्थ्यो । फल्याक भने अँगार, दियो वा टुकी बालेको ठाउँको मोसो दलेर रंगाइएको हुन्थ्यो ।
मन्दिर दुई किलोमिटर टाढा थियो । दाजुसँग म पनि गएँ । त्यसबेला छोरीलाई पढ्न पठाउने चलन थिएन । दिदीले पढ्ने मौका पाउनुभएन । बहिनीले अक्षरसम्म चिनिन् । स्कुले ज्ञान त परै रह्यो । मन्दिरमा हामीले दुई एकान दुई … सहित हरहिसाब गर्ने पाठ पढ्यौं । त्यहाँ एक वर्ष पढियो । त्यसपछि बसहिया गाउँमा खुलेको गोगलप्रसाद मिडिल स्कुल गएँ । मिडिल स्कुल तीन किलोमिटर टाढा थियो । मिडिल स्कुलमा म ‘बालवर्ग’ मा भर्ना भएँ । म ७/८ वर्षको पुगिसकेको थिएँ । त्यसपछि पहिलो कक्षा, दोस्रो कक्षा गर्दै मैले त्यही स्कुलमा कक्षा ७ सम्म पढें । स्कुल जाँदा हामी दुईजना मात्र हुन्थ्यौं । स्कुल पुग्न दूधमती खोला तर्नुपर्थ्यो । वर्षामा भेल आउँदा ३ किलोमिटरको सट्टा खोलाभन्दा माथि पुगेर ६ किलोमिटर हिँड्नुपर्थ्यो ।
स्कुल जाँदा हामी कमिज र हाफपेन्ट लगाउँथ्यौं । अलि ठूलो भएपछि धोती लगाउन थाल्यौं ।
मिडिल स्कुलपछि कक्षा ८ देखि मैले जनकपुरको सरस्वती स्कुल पढ्न पाएँ । एसएलसी त्यहीँबाट दिएँ । स्कुलमा म ‘म्याथ’ को राम्रो विद्यार्थी थिएँ । कक्षा ८ मा त ९३ अंक आएको थियो । कक्षा ९ मा म्याथ ‘इच्छाधीन’ (अप्सनल) राख्नुपर्नेमा मैले नागरिक शास्त्र र इतिहास इच्छाधीन राखें । हिन्दी राख्नुको सट्टा नेपाली राखें । कसैले आफूलाई नहेपोस् भनेर नेपालीलाई इच्छाधीन राखेको हुँ ।
मैले २०२१ सालमा एसएलसी परीक्षा दिएँ । त्यसबेला नागरिक शास्त्र, इतिहास, नेपाली, अंग्रेजी प्रथम पत्र, अंग्रेजी द्वितीय पत्र आदि थिए । एसएलसीको केन्द्र आफ्नै स्कुलमा परेको थियो । एसएलसी दिँदा पनि छात्राहरू थोरै थिए । एसएलसीमा म फेल भएँ । आंशिक परीक्षा दिनुपर्ने भयो । २०२२ सालमा आंशिक परीक्षा वीरगन्ज गएर दिएँ । सेकेन्ड डिभिजनमा पास भएँ ।
एसएलसी दिनुअघि २०१८ सालमै मैले पत्रकारिता गर्न थालें । स्कुल पढ्दा विभिन्न साहित्यिक रचना निकालिसकेको थिएँ । महिनाको अन्तिम शुक्रबार स्कुलमा सांस्कृतिक कार्यक्रम हुन्थ्यो । मलाई गीत गाउन र खेलकुदमा रुचि थिएन । कविता सुनाउँथे ।
२०१९ सालको विजयादशमीमै मेरो कवितासंग्रह तयार भएको थियो । तर त्यो छापिएन । २०२० माघ १ पुग्दा मेरा पाँचवटा पुस्तक तयार भए । छाप्न सक्ने अवस्था थिएन । अन्त्यमा २०२५ सालमा ‘पुकार’ कवितासंग्रह छापियो ।
स्कुल पढ्दा नै म गाउँमा प्राथमिक विद्यालय, पुस्तकालय, चारपाते क्लब खोल्ने काममा लागें ।
पढ्नुपर्छ भन्ने अठोट कसरी गरेँ ? भन्ने एउटा प्रसंग छ । त्यसबेला म कक्षा ३ मा पढ्थें । एकदिन घरमा पढिरहेको थिएँ । दाइले मलाई काम अह्राउनुभयो । म आफ्नो काम नसकी उठ्न चाहन्नथें । दाइलाई मैले काम गर्न नमानेको जस्तो लाग्यो । उहाँले व्यंग्य गर्दै भन्नुभयो, ‘तिमी पण्डित (विद्वान) बन्ने हो ?’ मैले मनमनै सोचें ‘साँच्चै पण्डित बन्ने हो’ । यही व्यंग्य मेरा लागि अठोटको स्रोत बन्यो ।
बुबाले सबैलाई राम्रैसँग ख्वाउने, लगाउने बन्दोबस्त गर्नुहुन्थ्यो । उत्तिको दुःख थिएन । घरको काम त्यति गर्नु पर्दैनथ्यो । बाल्यकाल अभावमा बितेन । २००७ सालमा अनिकाल हुँदा भने मकैको रोटी खानुपरेको थियो । घरमा प्रशस्त भैंसी पालेका थिए । चार हल गोरु थिए । भैंसी हेर्ने गोठाला पनि थिए । उनीहरू बिदामा गाउँ जाँदा म गोठाला जान्थें । त्यो धेरै होइन । पढ्ने छोरो भनेर बुबाआमा काम लगाउनुहुन्नथ्यो ।
मैले आफ्नो थर ‘नेपाली’ किन लेखें ? भन्ने एउटा प्रसंग छ । मिडिल स्कुलसम्म म थर ‘साहु’ लेख्थें । पुस्तकालयमा विनोबा भावेको ‘जय जगत’ शीर्षकको किताब थियो । त्यो मैले पढें । त्यसमा जातपात छुट्याउने कामको विरोध छ । म त्यसबाट प्रभावित भएँ र थरमा ‘नेपाली’ लेख्न थालें । मेरो नागरिकता, जग्गाजमिनको कागजात, सबै तहका प्रमाणपत्रमा मेरो नाम ‘राजेश्वर नेपाली’ नै छ ।
राणाविरोधी आन्दोलन चर्कंदा जनकपुर पनि तातेको थियो । रामजानकी बेला कुटीभित्रको झाडीमा मुक्तिबाहिनी सेना बसेको थियो । सुवर्ण शमशेर त्यस सेनाको कमान्डर-इन-चिफ हुनुहुन्थ्यो । एकदिन उहाँ हाम्रो घर आउनुभयो । डाँकाहरू आइरहने त्यो ठाउँमा नयाँ हतियारसहितका मान्छे आउँदा डर पनि लाग्यो । तर उहाँहरू प्रजातन्त्रका लागि लड्ने तयारीमा आउनुभएको रहेछ । बुबाले मेरो खल्तीमा सानो कागजको चिट हालिदिनुहुन्थ्यो । प्रसाद खान मन्दिर गएजस्तो गएर म त्यहाँ पुग्थे । मुक्तिबाहिनी सेनाले चिट हेर्थ्यो । केही आवश्यक भए अर्को चिट मेरो खल्तीमा हालिदिन्थ्यो । मैले हुलाकीको काम गर्दै प्रजातन्त्र ल्याउन पो सघाएको रहेछु ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ जेठ ३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment