अच्युतरमण अधिकारी सानो छँदा

निधारको त्यो घाउ

अच्युतरमण अधिकारीसँग साहित्यिक पत्रकारिता गरेको लामो अनुभव छ । उहाँ २०३० साल साउन २४ गतेदेखि निरन्तर रुपमा शिक्षण पेसामा हुनुहुन्छ । अहिले राजधानीको बागबजारस्थित पद्मकन्या क्याम्पसमा पढाउनुहुन्छ । उहाँ ‘उन्नयन’ नामक साहित्यिक त्रैमासिक पत्रिकाका प्रधानसम्पादक हुनुहुन्छ । ‘उन्नयन’ का ६५ अंक प्रकाशित भइसकेका छन् । उहाँको जन्म २००८ साल वैशाख ५ गते खोटाङ जिल्लाको डुम्रे गाउँ विकास समितिमा भएको हो । उहाँका पिताको नाम मित्रनाथ उपाध्याय र माताको दुर्गादेवी अधिकारी हो । उहाँका मातापिताका ७ छोरा र ५ छोरी जन्मेका हुन् । उहाँ माहिलो छोरा हो । साहित्यिक पत्रकारिताबारे ‘नेपाली त्रैमासिक रचनात्मक मूल्यांकन’ र विवेचनै-विवेचना (समालोचनासंग्रह) उहाँका प्रकाशित कृति हुन् । धरणीधर पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कार, सुश्री लक्ष्मी कार्की पुरस्कार आदि पाएका अधिकारी अहिले राजधानीको अनामनगर बस्नुहुन्छ । उहाँ साहित्यिक पत्रकार संघका संस्थापक निर्वाचन आयुक्त हुनुहुन्छ । त्यसपछि संघको सदस्य, कोषाध्यक्ष र महासचिव हुनुभयो । २०३८ सालमा सभापति भई २०४४ सम्म रहनुभयो । २०३८ माघ १७ मा विश्वेश्वरप्रसाद कोइरालाको अभिनन्दन गर्न उहाँ सक्रिय हुनुभयो । त्यसै वर्ष चैत १३ देखि १९ गते नेपालमा पहिलोपटक कथासप्ताह गरियो । चैत १९ मा ‘मैनाली कथा पुरस्कार’ स्थापना गरियो । यो पुरस्कार सार्वजनिक संस्थाले स्थापना गरेको यो पहिलो हो । चैत १९ मै कथा दिवस मनाउन थालियो । यी सबै काममा उहा अगाडि बढेर लाग्नुभयो । यसपटक अधिकारी सानो छँदाका केही सम्झना :
म ब्राह्मण परिवारको भएकाले अक्षर चिन्ने कामसगै चण्डी, रुद्री पढ्न थालें । मलाई केटाकेटीदेखि नै गाउन र कविताबाटै बोलेर केही भन्न मनलाग्थ्यो । बुबा ज्योतिष हुनुहुन्थ्यो । घरमा सधै धर्मकर्मका काम हुन्थे । आमा भने निरक्षर हुनुहुन्थ्यो । बुबाआमा नै अरूको वास्ता नगर्ने आफ्नै सुरमा काम गर्ने खालका हुनुहुन्थ्यो । म पनि त्यस्तै हुँदै गएँ ।
अक्षर लेख्न सिक्दा सिलेट र माटाको खरीले लेखियो । पछिपछि बाँसको कलमले लेख्न थालियो । बुबा त धेरै पछिसम्म बाँसको कलमले लेख्नुहुन्थ्यो ।
मेरो गीत गाउने तथा कवितामै बोल्ने र लेख्ने इच्छा कहिल्यै मरेन । गाउँबेसी गर्दा गीत गाउँथें । घाँस काट्न जाँदा पनि गाउँथे । पछि ठूलो भएपछि चिठी लेख्दा पनि कवितामा लेख्थें । मेरो यो क्षमता धेरैले प्रशंसा गर्नुहुन्थ्यो ।
गाउँमा हुँदा गोठालो जानु र गोठमा बस्नुपर्थ्यो । एकपटक म र ठूला बुबाका छोरा (दाइ) गोठमा थियौं । एक रातका लागि उहाँ मलाई छाडेर घर जानुभयो । मैले रात एक्लै बिताएँ । राति मलाई केही भयो । गाईवस्तु पो नासिए कि भनेर घरमा चिन्ता भएछ । बिहान घरबाट अरू आउँदा केही भएको थिएन ।
२०१३ सालमा माथिल्लो गाउँमा कालिका पाठशाला खुल्यो । म त्यहीँ जान थाले । पढ्न थालें । स्कुल पुग्न झन्डै एक घन्टा हिँड्नुपथ्यो । त्यहाँ संस्कृत चाहनेलाई संस्कृत र नेपाली चाहनेलाई नेपाली पढाइन्थ्यो । बुबाले पनि पढ्न जोड दिनुहुन्थ्यो । मेरा काफ्ले थरका एक नातेदार संस्कृत पढेर आउनु भएको थियो । उहाँले नै त्यो पाठशाला चलाउनुभएको थियो । गाउँका पढ्न चाहने जति पाठशाला जान्थें र पढ्थें ।
२०१४ सालको कुरा हो । मेरो मावली कोइराला हुन् । मामाघरका कान्छा हजुरबुबाका साहिँला छोरा राममणि कोइरालाले मलाई संस्कृत पढाउनुभयो । उहाँसँग ६ महिनाजति पढें । उहाँको घर ओखलढुंगाको छहरेमा थियो । म त्यहीँ गएर बसेको थिएँ । ६ महिनापछि घर फर्के । मलाई ‘कृष्णचरित्र’ ग्रन्थ कष्ठस्थ थियो ।
कहिले पनि त्यस्तो ठूलो उपद्रो गरिएन । म एकलकाँटे स्वभावको थिएँ । एकपटकको कुरा हो । घरमा साँझ नाम गरेको गाई थियो । फुकाएर लादा मैले डोरीले बाटो छेकें । गाई डोरी नाघेर गयो । त्यो गाई घर फर्केन । लडेर मरेछ । त्यही कुराले मलाई पछिसम्म पिरोल्थ्यो । अरूले गाली गर्दा पनि त्यही कुरा गर्नुहुन्थ्यो ।
एउटा विशेष खालको घटना छ । एकपटक डुम्रेखोला पार गरेर जानु थियो । खोलापारि हाम्रा हजुरबुबा बस्नुहुन्थ्यो । त्यहाँ श्राद्ध खान भनी कान्छा बुबाका छोरा घनश्याम दाजु र म जाँदै थियौं । म खोलामा लडें । मेरो निधारमा घाउ लाग्यो । घाउ त १५/२० दिनमा निको भयो । तर दाग अझै छ । त्यसबेलाको घरेलु ओखती पनि अचम्मकै थियो ।
मलाई पढ्ने इच्छा थियो । म सधैं घर छाडेर पढ्न जान्छु भन्थें । २०१६ सालमा म घरबाट हिँडे । कान्छो भाइ जन्मेको १६ दिनमा म घरबाट हिँडेको थिएँ । एकजना नातेदार सेनामा थिए । उनी बिदामा आएका बेला उनीसँगै म हिँडे । सुनसरीको इटहरी गएँ । त्यहाँबाट धरान गएँ । यो यात्रामा सधैंजसो हिँडियो । करिब ६ दिन हिँड्नु परेको थियो । त्यसै वर्ष असार १६ मा धरानको पिण्डेश्वर महाविद्यालयमा भर्ना भएँ । त्यहाँ संस्कृत पढाइ हुन्छ । म कक्षा ३ मा भर्ना भएको थिएँ । कक्षा ४ मा प्रथमाको परीक्षा दिएँ । त्यसपछि पूर्वमध्यमा, उत्तरमध्यमा गर्दै शास्त्री पनि त्यहीँबाट गरें । धरान पुगेको तीन वर्ष कष्टपूर्ण भए । अरूका घरमा भात पकाएर बाँच्नुसमेत पर्‍यो ।
त्यहाँ भर्ना भएको एक वर्षपछि वृत्ति मिल्यो । वृत्तिमा बिहान-बेलुका खान मिल्थ्यो । स्कुलमा शु:ल्क त तिर्नुपर्दैनथ्यो । जगदीश नेपालीका घरमा डेरा गरेर बसें । त्यो घर मेरो जीवनको दोस्रो घर थियो । जगदीश मेरा काकाजस्ता हुनुहुन्थ्यो । त्यो घरको गुण मैले कहिल्यै बिर्सनुहुँदैन ।
बिहान नित्यकर्म हुन्थ्यो । गायत्री जप्नुपर्थ्यो । पढाइ सुरु हुँदा सामूहिक प्रार्थना हुन्थ्यो । खाना खाँदा लुगा फेर्नुपर्थ्यो । भात खाँदा बाहुनका छोरा एकातिरबाट पस्थे र बस्थे । क्षेत्रीका छोरा अर्कातिर पस्थे र बस्थे । अनौठा थिए, जातका कुरा । बाहुनका छोरा नै धेरै थिए ।
त्यहाँ पढ्ने पुस्तक भारतको बनारसमा छापिएर आएका थिए । हामीभन्दा पहिलेका विद्यार्थी भुइँमा बसेर पढ्थे । हामीले पढ्दा डेस्क बेन्च नै पायौं ।
त्यहाँ ७५ जनाका लागि सरकारले खर्च दिन्थ्यो । तर विद्यार्थी सयजना हुन्थे । खाना पकाउने र भाँडा माझ्ने छुट्टाछुट्टै मानिस थिए । उनीहरू महाविद्यालयका जागिरे थिए ।
पिण्डेश्वर डाँडामा छ । त्यसको पश्चिम फेदमा धरान बजार छ । फुर्सद र छोटो छुट्टीमा हामी धरान बजार घुम्न जान्थ्यौं । लामो छुट्टी हुँदा वराहक्षेत्र र भोजपुर हुँदै घर गइन्थ्यो । घर पुग्न ६ दिन लाग्थ्यो ।
२०१९ सालमा मेरो पहिलो रचना ‘नेपाल’ नामक पत्रिकामा प्रकाशित भयो । त्यो पत्रिका छात्रसंघले निकालेको थियो । मलाई त्यसबेला अलिअलि राजनीति गर्ने इच्छा लागेको थियो । राजनीति गर्न थालेको थिएँ ।
त्यहाँ ठूलो कक्षामा पढेर साना कक्षालाई पढाउनुपर्थ्यो । हाम्रा गुरुहरू छविलाल पोखरेल, हेमप्रसाद दाहाल, भोग्यप्रसाद भण्डारी आदि हुनुहुन्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ चैत २२ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment