हरिवंश आचार्य सानो छँदा

पातका ती लुगा

हरिवंश आचार्य चर्चित कलाकार हुनुहुन्छ । उहाँ २०३१ सालदेखि हास्यव्यङ्ग्य कलाकार, गायक, नायक आदिका रूपमा देखिनुभएको छ । आचार्यको जन्म २०१४ साल कात्तिक २७ गते काठमाडौंको गैरीधारामा भएको हो । पाँच दिदी जन्मेपछि घरमा ‘हरिवंश पुराण’ लगाएर जन्मिएका आचार्यको नाम त्यही पुराणकै नामबाट लिएको हो । तर उहाँको न्वारानको नाम ‘छत्रनाथ’ हो । सुरुमा रंगमञ्चमा मात्र देखिएका आचार्य २०३८ सालपछि ‘मह’ जोडीका रूपमा मदनकृष्ण श्रेष्ठसँग रंगमञ्च, टेलिभिजन, ठूलो र सानो पर्दाका चलचित्रमा उदाउनुभयो । ‘पन्ध्रगते’, ‘दसैँ’, ‘वनपाले’, ‘कान्तिपुर’, ‘लक्ष्मी’, ‘सुर-बेसुर’ जस्ता २५ टेलिचलचित्रमा एवं ‘यमलोक’, ‘विज्ञापन’, ‘दुई सय पाँच’, ‘बोसे आन्द्रेई भुँडी’ लगायत ३२ नाटकको लेखन, निर्देशन र अभियन गर्नुभएको छ । ‘बलिदान’, ‘के घर के डेरा’, ‘लोभी पापी’, ‘सिन्दूर’, ‘फिलिम’ आदि १५ चलचित्रमा उहाँले अभिनय गर्नुभएको छ । उहाँका दुई छोरा : त्रिलोक र मोहित छन् । यसपटक आचार्य सानो छँदाका केही सम्झना :
मेरो बुवाले ५३ वर्षको हुँदा १३ वर्षकी बालिकासँग विवाह गर्नुभएको थियो । यसबेला भए सानी नानीसँग बिहे गरेको भनी प्रहरीले समातेर लान्थ्यो । १८/२० नभई छोरीको बिहे गर्नु हुँदैन । हामीले पनि बुझ्ने कुरा हो । बुवा ७३ वर्षको हुँदा म जन्मेको हुँ । बुवा पण्डित भएकाले मलाई पनि संस्कृत पढाएर पण्डित बनाउने इच्छा थियो । पण्डित नै विद्वान् हुन् भन्ने मान्यता थियो । म ६ वर्षको हुँदा बुवाको निधन भयो । बुवाकै इच्छाअनुसार मलाई आमाले ठमेलस्थित वेद वेदाङ्ग विद्यालयमा भर्ना गरिदिनुभयो । गैरीधाराबाट सानो मान्छे एक घन्टासमेत लगाएर म पढ्न पुग्थें । म एक्लै हिँड्थे । मोटर त थिएनन् नै । ठमेल ४ वर्ष धाएपछि म दरबार हाइस्कुलमा पढ्न थालें । त्यहाँ पनि संस्कृत नै पढ्नुपर्थ्यो ।
मेरा साथीहरू अंग्रेजी स्कुल जान्थे । मलाई पनि अंग्रेजी पढ्ने रहर थियो । टुपी पाल्नुपर्थ्यो । मलाई भने टुप्पी नराख्न र बंगाली कट कपाल काट्न मन लाग्थ्यो । सधैं टोपी लगाएर हिँड्नुपर्थ्यो । सबै कुरा मेरो इच्छाअनुसार थिएनन् । घरमा गोलभेडा, लसुन र प्याज खानु हुन्न भन्ने मान्यता थियो ।
बिहान भात खानुअघि चण्डीको किताब पूरै पढ्नुपर्थ्यो । किताब मोटो थियो । फुच्चे केटाका निम्ति त्यो कठिन थियो । मैले एक एक गर्दै बीचका पाना च्यात्दै गएँ । किताब निकै पातलो भयो । पछि त आमाले थाहा पाउनुभयो । २/३ थप्पड लगाउनुभयो ।
संस्कृत पढ्दा माधव भन्ने साथी थिए । एउटा घटना छ । माधवको संगतले गर्दा म चकचक गर्न जान्ने भएको थियो । त्यसबेला पाँच पैसा भर्खर निस्केको थियो । खबटा घोटेर त्यही पाँच पैसाको आकारको बनाउँथ्यो । चुरोटको बट्टाभित्रको टल्कने कागजमुनि सक्कली पैसा राखेर रगट्दा पैसाको छाप बस्थ्यो । त्यो छापपट्टि राखेर खबटा बेर्थ्यो । हेर्दा ठ्याक्कै पाँच पैसा बन्थ्यो । पसलमा गयो । त्यो नक्कली पैसा हातमा नदिएर कन्तुरमा फ्याँकिदिंदै भन्यो, ‘ए साहुनी पाँच पैसाको पुष्टकारी दिनु त ।’ साहुनीलाई यसरी ठगेर धेरै कुरा किन्ने गर्थ्यो । त्यस्तै बाटामा हिँड्दा नचिनेको मानिसलाई पनि ‘के छ ? ठीक छ ?’ भन्थ्यो । ती मान्छेले, ‘बाबुलाई त मैले चिनिनँ’ भन्थे । माधव, ‘पछि चिन्नुहुन्छ’, भनेर गफ गर्थ्यो ।
म ११ वर्षको भएपछि आमा पनि बित्नुभयो । आमा बितेका बेला नातागोताका मान्छे आउँथे । सान्त्वना दिन्थे । माया गरेकाले रमाइलो लाग्थ्यो । १३ दिन भएपछि मान्छे आउन कम भयो । शून्य लाग्दै गयो । त्यसपछि मात्र आमा नभएको महसुस भयो । अनि म आमा सम्झेर रुन थालें । दिदीहरूले आमाको जस्तो माया दिनुभयो । मेरा दिदीहरूमा विन्दु अधिकारी, जानुदेवी अर्याल, सप्तरूपा शर्मा, गीता ढकाल र गायत्री भूर्तेल हुनुहुन्थ्यो । म र विन्दु दिदीको उमेर डेढ वर्षमात्र फरक थियो । दिदी जानुदेवी पनि मेरो सहयोगी हुनुभयो । साहिँली सानिमा कमलालक्ष्मी ढकालले धेरै भरथेग गर्नुभयो । हेरविचार गर्नुभयो ।
आमाको निधनपछि म बढी स्वतन्त्र भएँ । मेरो अंग्रेजी पढ्ने इच्छा पूरा हुने भो जस्तो लाग्यो । म पद्मोदय स्कुलमा कक्षा ५ मा पढ्न थालें । आफैं गएर भर्ना भएँ । वर्षभरिको ‘फी’ पनि पसलमा बाँकी राखेजस्तो राख्न मिल्थ्यो । उधारोमा पढें । पास भएँ । स्कुल नै छाडें । शान्ति विद्यागृह गएँ । सरहरूले के-के सोधेर कक्षा ६ मा पढ्न मिल्छ भन्नुभयो । त्यहाँ पनि ‘फी’ नतिरी उधारोमा पढें । कक्षा ६ मा पास भएँ । पद्मोदयका साथीहरूको सम्झना आयो । कक्षा ७ देखि पद्मोदयमा नै पढें । २०३२ सालमा पद्मोदयबाट एसएलसी दिएँ । २०३५ मा थर्ड डिभिजनमा पास भएँ । पद्मोदयमा पढ्दा नवराज पौडेल, जनार्दन, जयसिंह शाह, प्रदीप जोशी, सुशील अधिकारी, राजेन्द्र अधिकारी मेरा साथी थिए । पढ्ने र नपढ्नेको ‘ग्रुप’ थियो । म, जनार्दन, जयसिंह, प्रदीपचाहिँ नपढ्ने अनि सुशील र राजेन्द्रचाहिँ पढ्ने थिए । मचाहिँ दुवैतिर मिल्थें । पद्मोदय पढ्दा चकचके भएँ । स्कुलबाट भाग्थें । कक्षामा जान्नथें । एकदिन हेडसर ईश्वरराज अर्यालले २/३ थप्पड हानेर थुनिदिनुभयो । मलाई थुनेको कोठामा थोत्रा डेस्क, बेन्च, कुर्सी थिए । स्टोरजस्तो थियो । त्यो दोस्रो तलामा थियो । मचाहिँ पाइप समात्दै तल उत्रेर भागें । फिल्ममा त्यसरी भागेको देखेको थिएँ । त्यसपछि मैले पनि सरलाई पिट्छु भन्ने सोचें । म त्यसबेला १४/१५ वर्षको थिएँ । उहाँ पनि गैरीधारा बस्नुहुन्थ्यो । उहाँको सधैंको रुटिन मलाई थाहा थियो । उहाँ घरबाट होन्डा मोटरसाइकलमा निस्कनुहुन्थ्यो । नजिकैको गणेशस्थानमा लगेर रोक्नुहुन्थ्यो । देवतालाई ढोगेर स्कुलतिर जानुहुन्थ्यो । म भने भोलिपल्ट नै सर त्यहाँ आउने बेलामा गणेशको मूर्तिपछाडि लुकें । ढोग्ने बेलामा आक्रमण गर्छु भन्ने सोचें । मुटु त खुब काम्यो । बाहिर निस्केला झैं गर्‍यो । बालुवामा खुट्टा उचालेको मात्र के थियो, खोस्याक्क गरेको आवाज आयो । सरले पुलुक्क हेर्नुभयो । ‘के गर्छस् ?’ भन्नुभयो । मैले भनें, ‘सरले मलाई हिजो कुट्नुभयो नि ।’ उहाँले, ‘हिजोमात्र के ? आज पनि कुट्छु,’ भन्दै दुई थप्पड लाएर हिँड्नुभयो ।
मैले गीत गाउन थालेको धेरै पछि हो । तर गैरीधारामा हुँदा म गाग्रोमा मुख राखेर आवाज भित्र पार्दै गीत गाउँथें । मुख छिराएर गाउँदा मेरो स्वर चर्को भएको हो । त्यसबेला नारायणगोपाल, बच्चु कैलाश, पुष्प नेपाली, कुमार बस्नेतका गीत चर्चित थिए । मैले ‘उकाली ज्यानको चिप्लेटी ढुंगा…’, ‘भो भो नरोउ जूनेली चरी…’ खुब गाएको छु । घरमा रेडियो थियो । बिहान खोलेको रेडियो रातिमात्र बन्द हुन्थ्यो । पहिलेको पुरानो रेडियोपछि एक/डेढ सयमा अर्को रेडियो किनेको थियो । साना ब्याट्री धेरै टिक्दैनन् भनेर काठको बाकस बनाएर ठूला ब्याट्री छुट्टै राखेर बजाइन्थ्यो ।
उसबेला पिङ त त्यति देखिएन । मचाहिँ गुच्चा खुब खेल्थें । दिदीका एक जोर चप्पल थिए । चप्पलको पैतालातिर प्वाल थिए । म त्यही चप्पल लाएर जान्थें । गुच्चा खेलेको ठाउँमा गएर चप्पलले टेक्थें । गुच्चा अड्कन्थ्यो । ३/४ वटै हुन्थ्यो । सबै गुच्चा हरायो भनेर कराउँथे । म घर आएर सिन्काले कोट्याएर गुच्चा निकाल्थें । यसरी झेली गरेर मैले हर्लिक्स बोतलका ३/४ बोतल गुच्चा बटुलेको थिएँ । एक रुपैयाँमा १५ वटासम्म बेच्थें ।
गैरीधारामा पर्खाल अग्लो थियो । म १०/११ वर्षको थिएँ । एकपटक पर्खालमुनि साँढे बसेको थियो । मैले साँढेको ढाडमा हामफाल्ने विचार गरें । हामफालें । साँढे उफ्र्यो । मैले घाँटी समातें । छाड्दै छाडिनँ । साँढे थाक्यो । टोलका सबैले देखे । सबैले गाली गरे । धेरै बेरपछि साँढे थाकेछ । चुप लाग्यो । म उत्रेर भागें ।
गैरीधारामा मासु किन्न पाइन्नथ्यो । मासु किन्न नक्साल पुगिन्थ्यो । ६० पैसा र पछिपछि तीन सुका पाउ मासु पाइन्थ्यो । घरमा मासु ल्याएपछि त्यसको वास्नाले तान्थ्यो । भान्सामै बस्यो । वास्ना सुँघ्यो ।
आमा बितेपछि अलि अप्ठ्यारोमा पर्दै गएँ । गैरीधारामा सगोलको घर थियो । बेच्नुपर्‍यो । म त्यसबेला १७/१८ वर्षको थिएँ । एकजनाले मलाई जग्गा/घर दिन्छु भनेर ५९ हजार रुपैयाँ लग्यो । उसले केही दिएन । मुद्दा पर्‍यो । म र विन्दु दिदी भने त्यही झगडियाका घर नक्सालमा गएर बस्यौं । एघार वर्ष मुद्दा धाएँ । बुवाआमा नभएको ठिटोलाई हेपेको बल्ल मैले थाहा पाएँ ।
हाम्रो पुर्ख्यौली थलो काभ्रेपलाञ्चोकको शंखु हो । त्यहाँ हाम्रो जग्गा थियो । अहिले पनि छ । घरवारविहीन भए पनि त्यहीँको चामल, गहुँ ल्याएर खायौं । त्यसले ठूलो भरोसा भयो ।
मैले एसएलसी दिएपछि पद्मोदयका साथी सुशीलका बुवा लक्ष्मीप्रसाद अधिकारीले मलाई जागिर दिलाइदिनुभयो । म रत्नराज्य स्कुलमा एकाउन्टेन्ट भएँ । महिनाको १ सय ३५ रुपैयाँ तलब पाउन थालें । यो २०३२ को कुरा हो । विन्दु दिदी टंगाल स्कुलमा पढाउनुहुन्थ्यो । उहाँको तलब १ सय ७५ रुपैयाँ थियो । मचाहिँ घर खर्च भनेर १ सय रुपैयाँ दिदीलाई दिन्थें । ३५ रुपैयाँ आफैं खर्च गर्थें । रत्नराज्यमा एक वर्ष काम गरें । दिउँसो रत्नराज्यमा काम गरेर साँझ भैरवबहादुर थापाको भैरव नृत्य दलमा पुग्थें । मलाई पनि नृत्य गर्ने इच्छा थियो । उक्त दलमा जैनेन्द्र लामा, खेलबहादुर लामा र कृष्णबहादुर लामा हुनुहुन्थ्यो । उहाँहरूले नाच्न लानुभयो । म सार्‍है दुब्लो थिएँ । नाच्न सुहाउँदैन भनेर मलाई झाँक्री नृत्यमा बिरामी र पद्मसम्भव नृत्यमा लाभा फुक्ने काम दिइयो । त्यहाँ पैसा पाइँदैनथ्यो । दलमा काम गर्न पाउनु नै ठूलो कुरा थियो ।
नक्साल बस्दाको कुरा हो । नाटककार जितेन्द्र महत ‘अभिलाषी’ सधैं नक्सालमा हिँड्नुहुन्थ्यो । उहाँलाई भेटेर नाटकमा खेलाउन आग्रह गरें । उहाँले नाचघर लानुभयो । त्यहाँ मैले नाटक खेल्न थालेँ । त्यहाँ मलाई तलब १ सय ७५ रुपैयाँ दिन थालियो । नाचघरमा जान थालेपछि भैरव दल छाडेँ । नाचघरमा राजारानी र राजपरिवारका सदस्य नाटक हेर्न आउँथे । नाचघरमा मैले ‘अमरसिंह’ नाटकमा गोली लागेको अभिनय गरेँ । राजाका सचिव नारायणप्रसाद श्रेष्ठले नाचघरका मुख्य प्रबन्धक इन्द्रप्रसाद काफ्लेलाई, ‘यो केटो को हो ? निकै राम्रो अभिनय गर्दो रहेछ,’ भन्नुभएछ । मुख्य प्रबन्धक काफ्लेले मेरो तलबमा एक सय थपिदिनुभयो । त्यसपछि ‘हाम्रो पनि कथा छ’ भन्ने नाटकमा हाँस्यपात्र बने । मेरो अभिनय रानी ऐश्वर्यलाई खुब हाँस उठेछ । यो देखेर मुख्य प्रबन्धक काफ्लेले मेरो तलबमा फेरि एक सय थपिदिनुभयो । तलब ३ सय ७५ पुग्यो ।
नक्सालमा बस्दा फुटबलको मज्जा अर्कै थियो । सानो गौचरणमा एकपटक चावहिल र नक्सालको फुटबल भयो । हामीले हार्‍यौं । चावहिलका केटाहरूलाई कुटेर खेदायौं । उनीहरूले ख्याल गरिरहेका रहेछन् । केही समयपछि चावहिल र नक्सालबीच भत्क्यापुलमा हामी पौडी खेल्न गयौं । चावहिलका केटाले हामीलाई देखे । पिट्न त पिटेनन् । लुगा सबै खोलामा फालिदिए । हामी नाङ्गै भयौं । साँझ परुन्जेल लुक्यौं । अँध्यारो भएपछि कर्कलोको पातले शरीर ढाकेर साथीका घर पुग्यौं । सुरुवाल मागेर लगायौं र घर गयौं ।
नक्सालमा बस्दा मैले मुद्दा खेपें । ती दिन दुःखका थिए । लक्ष्मीप्रसाद अधिकारी, जितेन्द्र महत ‘अभिलाषी’ जस्ता ठूलाको सहयोगमा काम पाएँ । अनि संघर्ष गरे । ती दिनले जीवन सार्थक बन्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ मंसिर १४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Comments posted (9)

Dhukha Ka Dina Pachi Sukhaka Dina Aau6en Vanne kura Hari bahadur ko jiwan ma pani milo.

dhari ramro 6 ar g tapayeko jevane pada khushi lageyo

ramaelo lagyo padera…thanks

khim raj nermohi form sandhikharkha

Dherai kura ko barema tha vayo hari bansha sir ko barema ramielo pane lago!

you have done good job Rajesh dai. this is useful to many people. inspiring and interesting.

Sangharsale Haribansa Manche bannu vayechha. Bastav ma, sangharsa ko fal ek din mithai painchha:))

khub ramailo laagyo…….. Interview sampreshen gari dinu vayekoma Rajesh koirala tatha nawaraj wagle jyuharulai dharai dharai dhanyabaad chha, vaastivakta sunna paayau, khushi laagyo, Haribansha dai manobal uchha rakhnu parchha aru sabai ishore ko haath ma

Hari Bansako Jeevanko suruwat nai hasyabyangyabat bhaejasto lagyo.

Write a comment