नन्दकृष्ण जोशी सानो छँदा

भुँडे सिडिओ, भूतले निलेको र छानाबाट घण्टी

नन्दकृष्ण जोशी देउडा गायक हुनुहुन्छ । उहाँ २०१५ साल साउन १५ मा बझाङको तलकोटमा जन्मनुभएको हो । पिता जगदीश र माता गंगमतीका चार छोरा र तीन छोरी जन्मेका थिए । ती चार भाइमा नन्दकृष्ण एक हुनुहुन्छ । तलकोट क्षेत्रमा ६ गाविस छन् । ती गाविसबाट एमए बराबरको पढाइ सक्ने उहाँ पहिलो हुनुहुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद हुने पहिलो सुदूरपश्चिमेली हुनुहुन्छ । जोशी जनआन्दोलन २ लगायतका विभिन्न आन्दोलनमा गरी ३७ पटक थुनिनुभयो । नयाँ राष्ट्रियगानको चयन समितिमा पुगेका जोशीले देउडा गायनलाई राष्ट्रिय स्तरमा चिनाउनुभएको छ । आफूलाई अगाडि बढाउन सधैं हौसला दिने दाजुहरू शुकदेव र देवीचन्द्रलाई सम्झने जोशीका बाल्यकालका केही सम्झना :
सानोमा मलाई नन्दकिशोर भनेर बोलाइन्थ्यो । पिता धेरै धर्मकर्ममा विश्वास गर्नुहुन्थ्यो । तलकोटमा सप्ताह, नवाह, सत्यनारायणको पूजा गराउने मेरा पिताले नाम फेरिदिनुभयो र नन्दकृष्ण राखिदिनुभयो ।
हामीले अक्षर कोर्दा काठको पिर्काजस्तो फल्याकको टुक्रा हुन्थ्यो । कमेरोको झोल बनाएर बोक्थ्यौं । फल्याकको टुक्रामा मोसो र घ्यूको घोल लेप्थ्यौं । त्यसमा कमेरोले लेख्थ्यौं । स्कुलजस्तो मात्र थियो । अलि विकट ठाउँ थियो । आधा घन्टा हिँडेर पुगिन्थ्यो । मलाई अक्षर सिकाउने मेरा दाजु शुकदेव हुनुहुन्छ । कक्षा ८ सम्म अर्का दाजु देवीचन्द्रले पढाउनुभयो ।
कक्षा १ सम्म मैले लेख्दा देब्रे हात चलाएछु । मलाई सबैले गिज्याए । त्यसपछि मैले दाहिने हातले लेख्न थालें । मेरो पढाइ राम्रो थियो । त्यसैले कक्षा १ बाट सिधै कक्षा ३ मा लगियो । कक्षा ३ बाट फेरि कक्षा ५ मा लगियो । पढाइ राम्रो हुनुको कारण अनुशासन कडा थियो । मलाई किताबको कीरो भन्थे । अरूलाई जिस्क्याउने काम कहिल्यै गरिनँ ।
सानैमा रुद्री, चण्डी पढिन्थ्यो । दाइहरूले पाठ गरेको सुन्दासुन्दै मैले पनि यी धार्मिक कृति पढ्न सिकेको हुँ । सुरुको पढाइ त घरमै भयो । त्यसपछि शुकदेव दाजु मेरा गुरु हुनुभयो । सुरुमा बडीगाउँमा हामी पढ्न जान्थ्यौं । पाँच कक्षापछि तलकोटकै दुर्गा भवानी नि.मा.वि. मा पढ्न थालेँ । कक्षा ८ पछिको पढाई बझाङ सदरमुकामनजिकको भोपुरको सत्यवादी मा.वि. मा भयो । त्यो विद्यालयमा पढ्दा मैले घर छाड्नुपर्‍यो । त्यहाँ पुग्न सेती नदी तरेर जानुपर्थ्यो । सेतीमा पुल थिएन । कक्षा ९ त मैले काप्रीकोटमा भएको दिदीको घरमा बसेर पढें । काप्रीकोटबाट सत्यवादी धाउँथेँ । कक्षा १० चाहिँ होस्टलमा बसेर सकियो । होस्टल भनेर आफैं पकाएर खाने चलन थियो । सत्यवादी पुग्न घरबाट ६ घन्टा हिँड्नुपर्थ्यो । आफैंले खानेकुरा बोकेर लानुपर्थ्यो ।
एकपटकको कुरा हो । सेती नदी छेउ पुगें । सत्यवादी जानुथियो । साँघु तर्न सकिनँ । एक घन्टा कुरेर बसें । पछि एकजना मानिस आए । उनले मलाई पिठ्युँमा बोकेर तारिदिए ।
तल कोटमा पढ्दा मेरो हात लेखिरहे पनि आँखा डाँडापाखा, पहाडतिर घुमिरहेको हुन्थ्यो । सानो छँदा म गीत गाउन मन पराउँथे । आमाले पूजाआजामा भजन गाउनुहुन्थ्यो । मैले आमाकै सिको गरेको हुँ । तर ब्राह्मणको छोराले गीत गाउनुहुन्न भनिन्थ्यो । मचाहिं एकान्तमा गाउँथें । जंगलमा घाँसदाउरा र गोठाला जाँदा गाउँथेँ । बोक्रे सल्लाको रूखमा चढेर गाउँथें । मैले त्यसरी गीत गाएको सुनेको भए मैले खुब पिटाइ खान्थे होला । म गोरुको गलामा बाँधेको घन्टीको तालमा गाउँथेँ । उसबेला गाएका गीतका केही अंश यस्ता थिए –
बौजुका कम्पनी माला दाइ क्यान मास्दा हुन्
मन भन्या साउनको राति दन्त क्यै हाँस्दा हुन्
मेरा हात छाता छैन न पणैं वर्षात
आमाले दियाको खानु काशीको प्रसाद
उसबेला हामी भाले जुधाइ र डन्डिबियो खेल्थ्यौं । बिया लाग्न लागेको ओखर खाने बानी थियो । ओखरको कात्तिकमा मात्र बोक्रा निस्कन्थ्यो । हामी भने भदौमा नै बोक्रा उप्काउँथ्यौं । हात त रातो र कालो हुन्थ्यो । म रूख चढ्न पनि सिपालु थिएँ । दाउराको बन्दोबस्त गर्थेँ ।
झरी परेका बेला कुहिरो लागेझै हुन्थ्यो । हामी काँक्रा चोरेर खान्थ्यौं । गाउँका केटाकेटी मलाई लिएर गए कम पिटाइ खाइन्छ भन्ठान्थे । मलाई लान्थे । हामी काँक्रा चोर्थ्यौं । उनीहरूले धेरै पिटाइ खान्थे । मलाई देखेपछि अलि कम उनीहरू पिटिन्थे ।
एकपटक गोठाला जाँदा गाईवस्तु हराए । जंगलकै गोठमा गएर बसेछन् । दिउँसो घाँस काटेका थियौं । गाउँलेले डन्डिबियो खेलेर गाईवस्तु हराएको आरोप लगाइदिए । म त घर आउनुको साटो जंगलकै अर्को गोठमा गएर सुतेँ । बिहान हुने बेलामा मैले भूतले मलाई खर्लप्प निलेको सपना देखें । म कराएँ । ब्युझिएँ । घर जान लाग्दा दाइले देख्नुभयो । ८/९ वर्षको थिए होला । दाइले पिट्नुभयो । बुवाले त बाँधेर पिट्नुभयो ।
गोठाला जाँदाका साथी हरिकृष्ण, विष्णुभक्त, मनराज आदि हुन्थे । कक्षा आठसम्म मेरा साथी मनवीरसिंह, मानबहादुर सिंह, ललितप्रसाद जोशी, डम्बरकुमारी सिंह आदि थिए । हाइस्कुलमा मेरा साथी ध्वजराज जोशी, उमाशंकर जोशी, ईश्वरनाथ जोशी आदि थिए ।
२०२३ सालमा बझाङमा भूकम्प गयो । म आठ वर्षको थिएँ । अचम्म भएको थियो । पहिरो गएका थिए । कहिल्यै पानी नआउने ठाउँमा पानी उम्रियो । दिउँसो चार बजेको थियो । साउनको महिनाजस्तो लाग्छ । मैले त गोरुको पुच्छर समाएछु । पुच्छरकै भरमा अलि पर पुगेँ । यसरी मेरो ज्यान त गोरुले बचायो । भूकम्पले घरहरू भत्किए । गाईवस्तु राख्ने ठाउँसम्म रहेनन् । त्यसबेला एउटा गीत बनाएको थिएँ –
भोक ऐलै भूकम्प ऐलै भूमिसुधार ऐलै
अम्रिकाको बेसाअरी खाया छ्या कि कैलै ।
दुर्गा भवानी स्कुलमा घण्टी लाउने चलन अनौठो थियो । पालैपालो घण्टी लाउनुपर्थ्यो । घडी नभएकाले कोही पनि विद्यार्थी समयमा स्कुल पुग्दैनथे । देवीचन्द्र दाइ हेडमास्टर हुनुहुन्थ्यो । ढिलो आउने विद्यार्थीले पिटाइ खान्थे । एकपटक घण्टी बजाउने पालो मेरो थियो । म त समयमा गए । छानामा चढेर घण्टी बजाएँ । सेतीपारिसम्म सुनियो । सबैले स्पष्ट सुने । दाइले पनि सुन्नुभयो । कसरी घण्टी बजाइयो भन्ने भयो । मैले छानामाथि चढेको कुरा सुनाउँदा खुब पिटाइ खाएँ । उक्त स्कुल दाइले नै स्थापना गर्नुभएको हो । दाइले मलाई पनि पिट्नुभयो । दुईपटक त म बेहोस नै भएँ ।
उता सत्यवादीमा भारतको अस्कोटका रामदत्त अवस्थी शिक्षक हुनुहुन्थ्यो । उहाँ पनि खुब कडा हुनुहुन्थ्यो । ३० वर्ष बझाङमा सेवा गरेर जिल्लालाई उज्यालो पार्नुभयो । म अंग्रेजीमा कमजोर थिएँ । ग्रामरको परीक्षामा मैले पहिलोपटक चिट चोर्न खोजें । अवस्थी सरले देख्नुभयो । लठ्ठीले हिर्काएर टाउकै फुटाइदिनुभयो । दुई घन्टापछि फेरि परीक्षा दिएँ । त्यसपछि चिट चोर्न छाडेँ ।
एकपटक सत्यवादीमा सीडीओ आए । उनले सबैको भेलामा ‘केही छ ?’ भनेर सोधे । मैले त्यत्रो भुँडी भएको मानिस कहिल्यै देखेको थिइनँ । मैले, ‘यहाँ पुल छैन । हामीलाई खानका निम्ति चामल छैन । तपाईंको जस्तो भुँडी छैन’ भनेँ । मेरा कुरा सुनेर कोही हाँसे । कोही चुप लागे । त्यही घटनालाई लिएर सरहरूले मलाई बोलाए । पछि मेरा कुरा ठीक भनेर सबैले भनेपछि छाडियो । सीडीओले मलाई पाँच रुपैयाँ बक्सिस छुट्याएका थिए रे । सरहरूको स्वीकृति नपाएकाले म सदरमुकाम जान पाइनँ ।
हवाइजहाजलाई देख्दा चिलगाडी भनेर गोठभित्र लुकेको थिएँ । भारतको टनकपुर हाट जाँदा साइकल, गाडी र रेल देखेर छक्क परेको थिएँ । रेडियो देख्दा त झनै अचम्ममा परेको घटना छ । सेती नदीमा मलाई साथीले धकेलिदियो । तर मनवीरसिंहले बचाएको म बिर्सिन्न ।
नयाँ वर्षको बिसु पर्वमा दही-चामल, गौरा पर्वमा क्वाँटी (बिरुडा) र दशैंमा काक्राको अचार खाएको याद आउँछ ।
काठमाडौं आउँदा आमाले नाम कमाउनुपर्छ भन्नुभएको मैले सम्झें केही गर्ने प्रयास गरें । कोसिस जारी छ ।
आजकल अनुशासनमा कमी आएको छ । अनुशासित हुनुपर्छ । उन्नति गर्नेले आँट गर्नुपर्छ । इमानदार हुनुपर्छ । इमानदारीसँगै पुर्खाले देखाएको बाटो भुल्नु हुन्न । देशलाई माया गर्नुपर्छ । जसले देश र आफू जन्मेको माटो बिर्सन्छ, त्यो त मरेतुल्य हुन्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ भदौ ७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment