दिलबहादुर चित्रकार सानो छँदा

एकान्तमा चित्र कोर्दाकोर्दै

डी.बी. चित्रकार पुराना चित्रकार हुनुहुन्छ । उहाँलाई दिलबहादुर चित्रकार भनेर पनि चिनिन्छ । दिलबहादुरले संस्कृति र जनजीवनका धेरै चित्र कोर्नुभएको छ । उहाँलाई मुहारचित्र बनाउन जान्ने चित्रकारका रूपमा चिनिन्छ । उहाँ वि. सं. १९८४ (नेपाल संवत् १०४८) मा पाटनको हौगलमा जन्मनुभएको हो । उहाँ जगतबहादुर र हेरामायाका माहिला छोरा हुनुहुन्छ । उहाँले १४ वर्षको उमेरदेखि चित्र कोर्न थाल्नुभएको हो । चित्रकारले पाँचवटा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । उहाँको पछिल्लो प्रदर्शनी एक महिनाअघि मात्र भएको थियो । राम शाहका पालादेखि नै चित्रकारहरूले चित्र कोर्न काम गर्दै आएका हुन् । उहाँले बनाएका चित्रहरू हजारौं छन् । उहाँ नेपाल ललितकला संस्था (नाफा) मा संस्थापक सदस्य हुनुहुन्छ । नाफाले २०२३ र २०२४ मा गरेका प्रतियोगितामा प्रथम र दोस्रा हुनुभएको थियो । उहाँको पहिलो प्रदर्शनी सन् १९६४ मा म्याक्स ग्यालरीमा भएको थियो । उहाँले २०१७ सालमा जुद्ध कला पाठशालाबाट कला-प्रवीण गर्नुभएको हो । उहाँ कार्यक्रमहरूमा कम जानुहुन्छ । पत्रपत्रिकाले लेखे धेरै नाम चल्छ भन्ने कुरामा त्यति विश्वास गर्नुहुन्छ । लामो समय जनक शिक्षा केन्द्रमा प्रमुख चित्रकारका रूपमा २० वर्ष काम गरेका दिलबहादुरका बाल्यकालका केही सम्झना प्रस्तुत छ :
बुवाले घरमा नै चित्र सिकाउनुहुन्थ्यो । हाम्रो घर नै पाठशाला थियो । पढ्नेभन्दा पनि चित्र बनाउने काम हुन्थ्यो । त्यसबेला भीमसेन, गणेश, देवीदेवताका चित्र बढी बनाइन्थ्यो । हामीले त्यस्तै सिक्यौं । अहिले पनि त्यस्तै चित्रमा बढी मन जान्छ । हामी साना हुन्जेल काम मात्र गर्थ्यौं ।
म बुवाले चित्र बनाएको हेरिरहन्थे । एकपटकको कुरा हो । बुवा काममा जानुअघि मलाई, ‘एउटा राम्रो चित्र बनाएर राख’ भन्नुभयो । मलाई त उत्तिको चित्र बनाउन आउन थालेको थिएन । आमासँग पैसा लिएर म बाजेकहाँ गएँ । बाजेलाई बुवाले भनेको कुरा बताए । बाजेले एउटा चित्र बनाइदिनुभयो । मैले बाजेलाई, ‘यो कुरा बुवालाई नभनिदिनु’ भने । तर बाजेले बुवालाई त्यो कुरा सुनाइदिनुभयो । बुवाले मलाई, ‘बाजेले बनाएको चित्र ल्याउने । आफूले बनाएको भनेर धक्कु लगाउने’ भन्नुभयो ।
जन्मदेखि मृत्युसम्म विभिन्न विधिका लागि चित्र चाहिन्छ । त्यस्ता चित्र बनाउने काम चित्रकारहरूले गर्ने हो । जनै खटिरा आउँदा पनि शरीरमा चित्र कोरेर ठीक पार्ने विधि चित्रकारहरूसँगै हुन्छ ।
मेरो मामा पर्ने तेजबहादुर चित्रकारको घर पनि हौगलमा थियो । एकपटक उहाँले, ‘के काम गरेका छौं ?’ भनेर सोध्नुभयो । उहाँले चित्र बनाउन जानेको छ कि छैन भनेर सोध्नुभएको हो । मैले, ‘जानेको छ’ छ भनेर टाउको कन्याएँ । उहाँले चित्र बनाउन लगाउनुभयो । मैले बनाएको चित्र ‘राम्रो भएन’ भन्नुभयो । उहाँले उहाँकै घरमा बोलाउनुभयो । उहाँकै घरमा गएर चित्र बनाउन सिक्न थालें । उहाँलाई नै त मेरा गुरु मान्छु । मैले भने नि त्यसबेला चित्र सिक्दा पैसा आउँदैनथ्यो । गुरुलाई केही दिनुपर्ने नियम थिएन । हामी तमाखु बनाइदिन्थ्यौं । उहाँका काम गरेर गुरुभेटी तिर्थ्यौं ।
तेजबहादुरले नै मलाई जुद्ध कला पाठशाला लानुभयो । जुद्ध कला पाठशाला अहिलेको काठमाडौंको भोटाहिटीस्थित ललितकला क्याम्पस हो । तेजबहादुर उक्त पाठशालामा कला सिकाउनुहुन्थ्यो । त्यसबेला चित्रकार चन्द्रमान मास्के थुनामा परेको सम्झना छ । मास्कले जुद्धशमशेरको कार्टुन बनाएका रहेछन् । त्यही आरोपमा उनलाई थुनिएको रहेछ । हामीलाई जुद्ध कला पाठशालामा भर्ना गर्न परीक्षा भयो । १४ जनाले परीक्षा दिएका थियौं । म मात्र पास भएँ । परीक्षा दिंदाको एउटा रमाइलो कुरा छ । मलाई परीक्षा नदिने भनियो । बालकृष्ण समले सोध्नुभयो, ‘तिमीले परीक्षा दियौ ?’ मैले त परीक्षा दिन नपाएको सुनाए । उहाँकै कारण मैले परीक्षा दिएँ । त्यही परीक्षामा म मात्र पास भएको हुँ ।
त्यसबेला शिक्षामन्त्री नृपजंग राणा हुनुहुन्थ्यो । मैले जुद्ध कला पाठशालामा चित्रकारिता सिक्न थालेको केही समयपछि केशव दुवाडी हेडमास्टर भएर आउनुभयो ।
मेरा बाजे कृष्ण शमशेरकहाँ रंगसम्बन्धी खरिदार हुनुहुन्थ्यो । म पनि बाजेसँग कृष्ण शमशेरकहाँ जान्थे । त्यसबेला बेलायतबाट किताब झिकायौं । चित्रकारिताका बारेमा त्यहाँका कुरा हेर्ने मौका पायौं ।
दरबार र राणाका पूजाकोठीका लागि चित्र बढी लगिन्थ्यो । एकपटकमा ८/१० मा बेच्थ्यौं । ती चित्र ३ देखि ५ रुपैयाँमा बेचिन्थ्यो ।
सानो छँदा म खेल्न जान्नथें । घरमा बसेर चित्र कोर्थें । मेरा पाटनमा धेरै साथी भएनन् । काठमाडौंमा केही साथी मात्र थिए । काठमाडौं जाँदा हिँडेर जानुपर्थ्यो ।
मेरा एक दाजु र एक भाइ हुन् । दिदी एकजना हुनुहुन्थ्यो । मामाघर पनि पाटनमै थियो । चाडबाडमा बाजेले बोलाउनुहुन्थ्यो । मामाघर जानु जति रमाइलो केही हुन्नथ्यो । सानो छँदा मलाई ‘दिल’ भनेर बोलाउँथे ।
नेपाल भाषाका गीत र असार गीत खुब सुनिन्थ्यो । आजकल ती गीत कहाँ गए होलान् ? भजन र राग गाउँथे । गाईजात्रामा जात्रा निकाल्ने चलन मैले सानैदेखि देखेको हुँ ।
राजनीतिमा उत्तिको चासो राख्दिन थिएँ । तर राणाहरूले टंकप्रसाद आचार्यलाई पाटन ल्याएर बेइज्जत गरेको मलाई थाहा छ । आचार्यलाई मंगलबजार ल्याएर चारपाटा मुडिएको थियो । सुँगुर छुन लाएर जात गएको भनिएको थियो । राणा साँच्चै बदमास थिए ।
यस्ता कैयौं सम्झना छन् । कति त बिर्सियो पनि । तर मानिसले एउटा काममा मेहनत गरेर लाग्दा नाम कमाउन सकिन्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ असार २९ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment