जीवन अधिकारी सानो छँदा

पाठशाला जाँदा अढाई घन्टा उकालो

जीवन अधिकारी प्रसिद्ध संगीतकार हुनुहुन्छ । उहाँले भारतको सिलिगुढी, बागडोगरामा बस्नुहुन्छ । उहाँले उद्धव पौडेलले बनाएका दुई चलचित्र ‘तिलहरी’ र ‘परिवार’ मा संगीत दिनुभएको छ । त्यसबाहेक उहाँले सिलिगुढीमा प्रचलित बंगाली र सात्री भाषाका साना पर्दाका चलचित्र, भिडियो चलचित्र आदिमा संगीत दिनुभएको छ । यसपटक नेपाली गजलको क्यासेट निकाल्न काठमाडौं आउनुभएको छ । उक्त गजलको संगीत उहाँको १५ औं कृति हो । मुख्य पेसा कानुनसेवी हो । उहाँ वकालत गर्नुहुन्छ । उहाँको जन्म सन् १९५० जनवरी १ मा दार्जिलिङको तकभर चिया कमानको तेस्रो विभागमा भएको हो । त्यही कमानमा वरिष्ठ साहित्यकार तथा चित्रकार लैनसिंह बाङ्देलको जन्म भएको हो । बुबा भक्तिप्रसाद र आमा मनमायाका छ छोरा र ४ छोरी जन्मे । गजलको रेकर्डिङका लागि आएका संगीतकार अधिकारीको बाल्यकालका केही सम्झना प्रस्तुत छ :
हाम्रो मूलथलो इलामको मार्से हो । कामको खोजीमा बुबा दार्जिलिङ जानुभएको थियो । दाइहरू इलामका जन्मनुभएको थियो । म दार्जिलिङमा जन्मेको हुँ ।
कखरा सिकेका दिन सम्झँदा रमाइलो लाग्छ । उकालो धाएर हामीले रात्रिस्कुलमा अक्षर खुट्याएका थियौं । पाठशाला पुग्न साढे दुई घन्टा लाग्थ्यो । उकालो पाँच किलोमिटरलाई निकै समय लाग्छ । त्यहाँ सरले भुइँमा लेखिदिनुहुन्थ्यो । हामी सरले लेखका ठाउँमा मकै राख्थ्यौं । पछि मकैका ठाउँमा ढुंगा राखेर अक्षर चिन्ने काम गरिन्थ्यो ।
मैले कक्षा ८ सम्म बेटेन हाइस्कुलमा पढे । कक्षा ९ र १० दार्जिलिङको टर्नबुल उच्च विद्यालयमा भयो । सन् १९६७ मा म्याट्रिक पास भएँ । म्याट्रिक भनेको यहाँको एसएलसी बराबर हो । त्यसपछि म सिलिगुढी गएँ । त्यहाँको कलेजबाट बीकम र नर्थ बंगाल युनिभर्सिटीबाट एमकम र एलएलबीसम्म पढें । बीकम, एमकम र एलएलबी पढ्दा बुबालाई खर्च दिनु भन्न छाडें । आफैं कमाउँथे । दिउँसो जागिर खाएर राति पढ्थें । म त्यसबेला बागडोगराको एउटा प्राथमिक स्कुलमा पढाउन थालें । त्यहाँ नेपालीभाषीहरू थिए । साना नानीहरू पढ्दैनथे । नेपालीहरू शिक्षित भए । मेरो जिन्दगीको सबैभन्दा राम्रो काम त्यही हो । म अरू सबै कामभन्दा त्यही कामबाट धेरै सन्तुष्ट छु । सन् १९६८ देखि सन् १९८४ सम्म उक्त स्कुलमा पढाए । स्कुलको सञ्चालक समितिमा पनि रहेँ ।
स्कुल पढ्दाका दिन रमाइला थिए । कक्षा ८ सम्म त म प्रथम भएँ । ९ कक्षाबाट अलि पछि परेँ । मलाई संस्कृत, नेपाली र अंग्रेजीको व्याकरण मन पर्थ्यो । धेरै अंक आउँथ्यो । इतिहास, भूगोल, गणित पनि हाम्रा विषय थिए । म फुटबल र भलिबल राम्रो खेल्थें । मेरा अक्षर ठूला र बुझ्ने खालका थिए ।
पढाइ राम्रो भए पनि हामी कहिलेकाहीं स्कुलबाट भाग्थ्यौं । लप्सी टिप्न र खोलामा माछा मार्न जान्थ्यौं । लप्सीका रूख अग्ला हुन्छन् । ढुंगाले हानेर लप्सी झार्थ्यौ । कहिले दाइहरूले झारिदिन्थे । तर स्कुलबाट भाग्दा गाली खाइन्थ्यो । बदमासीमा सजाय पाइन्थ्यो । स्कुल छाडेर भाग्नु त ठीक होइन ।
बुबा साधारण काम गर्नुहुन्थ्यो । चिया कमानका हाकिमका छोराछोरी र हामीबीच अन्तर हुन्थ्यो । सरहरूले नै अलि फरक खालको व्यवहार गर्थे । दुःख लाग्थ्यो । दाइ रामलाल साहित्यमा राम्रो विद्यार्थी हुनुहुन्थ्यो । उहाँले कक्षा ८ मा पढ्दा कथा प्रतियोगितामा पहिलो पुरस्कार जितेपछि एक दिन स्कुल नै बिदा भयो । त्यसपछि सबैले हामीलाई सम्मान गर्न थाले । दाइकै कारण मुगलानको चिया बगान चिन्यौं । उहाँले नेपालका बारेमा सिकाउनुभयो ।
बिदाका दिन घरमा पालिएका गाईवस्तुको स्याहार गर्नुपर्थ्यो । हामी घाँस काट्थ्यौं । भारी बोक्थ्यौं । गोबर सोथ्यौं । बिदामा हामी इलाम जान्थ्यौं । बुबाले छाडेर आएको इलामको मार्से पुग्थ्यौं । दार्जिलिङदेखि कहिले जोरबङ्लो त कहिले पशुपतिनगरसम्म गाडी हुन्थ्यो । अनि हिँड्थ्यौं । मामाघर मकरजुङ र ठूली आमाको घर माघे जाँदा हिँड्नुपर्थ्यो ।
हामीलाई पढाउनुपर्छ भनेर आमाले पहल गर्नुभएको हो । हाम्रा पाँचैजना मामा पण्डित हुनुहुन्थ्यो । मामाघरको सुसंस्कारले हामीलाई शिक्षित बनायो ।
म सानैदेखि संगीतमा रुचि राख्थें । सुरुमा हार्मोनियममा मैले, ‘जय शिव शंकर भोलेनाथ…’ भजन गाएँ । पछि ‘माया पिरती गाँसेर, जीवन बिताउँ हाँसेर…’ भन्ने गीत आयो । मित्रसेनका गीत प्रचलनमा आए । उहाँको ‘खुत्रुक्कै पार्‍यो जेठान…’ भन्ने गीत गाइन्थ्यो । गाउँमा सत्यनारायणको पूजा हुँदा सुनेर बसिन्थ्यो । देउसीमा रात बित्थ्यो । अरूले विश्राम गरेका बेला हार्मोनियम बजाउँथे । मलाई कक्षा ६/७ मा हुँदा हार्मोनियम बजाउन आउँथ्यो । कक्षा ९ मा पढ्दा शनिबारको आधा दिन बिदामा म गोपाल योञ्जनको रिहर्सल हेर्न कला मन्दिर पुग्थें । पछि सावन क्लब जान थालें । त्यहाँ अगमसिंह गिरीले पढाउनुहुन्थ्यो । योञ्जन, नगेन्द्र थापा, मनबहादुर मुखिया, अरुणा लामाचाहिं दाइका समकालीन हुनुहुन्थ्यो । दिव्य खालिङ मसँगै पढ्थे । हामी कक्षामा पछाडि बस्थ्यौं । डेस्क-बेन्च बजाएर धुन तयार पार्थ्यौ ।
सन् १९६५ को कुरा हो । पढाइ नभएका बेला कक्षामा गीत गाइरहेको थियो । मेरो स्वर सुनेर गोपाल योञ्जनले गीत प्रतियोगितामा जान हौसला दिनुभयो । मैले जितेन्द्र बर्देवासँग संगीतको तालिम लिएको हुँ । सन् १९६७ मा सिलिगुढी आएपछि बंगाली मास्टर कानन कर्मकार मेरा संगीतका गुरु हुनुभयो । ६/७ वर्ष शास्त्रीय संगीत सिकें । पढाइ र जागिर दुवै गर्नुपर्दा संगीत सिक्ने समय बचेन । म संगीतकार मात्र बन्छु भन्ने थियो । तर परिवारको जिम्मेवारी आएपछि वकालतीका लागि बढी समय दिनुपर्‍यो ।
हामीले जीवनमा केही गर्नुपर्छ । त्यस्तो कामले आफ्नो जीवनमात्र सजिलो हुन्न । राष्ट्रका लागि पनि केही योगदान पुग्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६४ असार ८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Write a comment