संसदमा महिला

राजनीतिमा महिलासम्बन्धी समाचारले उल्लेख्य स्थान पाएको वर्ष सन् २००९ महिला सांसद्को संख्यामा उतार-चढावको वर्ष नै रह्यो । त्यसका केही प्रमाणहरू अफ्रिकी मुलुक नै छन् ।
गत नोभेम्बर २७-२८ मा अफ्रिकी मुलुक नामिबियामा संसदीय निर्वाचन भयो तर त्यो निर्वाचन महिलाहरूका लागि आशावादी रहेन । अघिल्लो संसदमा ३० दशमलव ८ प्रतिशत महिला सदस्य रहेकोमा पछिल्लो निर्वाचनले केवल २५ प्रतिशत महिलालाई मात्र संसदमा पठाउन सक्यो । उता बोत्स्वानामा अक्टोबरमा भएको संसदीय निर्वाचनमा पनि महिला प्रतिनिधित्व ह्वात्तै घट्यो । पछिल्लो निर्वाचनमा ११ प्रतिशत महिला प्रतिनिधि चुन्ने बोत्स्वानाका जनताले अक्टोबर निर्वाचनमा केवल ६ दशमलव ५ प्रतिशत महिला प्रतिनिधि चयन गरे । यही परप्रेक्ष्यमा मलावीको समाचार भने केही सुखद् रह्यो । मे महिनामा त्यहाँ भएको निर्वाचनले २२ प्रतिशत महिला सांसद् चुन्यो जव कि अघिल्लो संसदमा त्यहाँ १४ प्रतिशत महिला सांसद् थिए ।  अफ्रिकाभर यस्तो आशा-निराशा रहे पनि दक्षिण अफ्रिकाको अप्रत्याशित छलाङलाई साधुवाद दिनैपर्छ । दक्षिण अफ्रिकाको ‘हाउस अफ एसेम्बली’ मा ३३ प्रतिशत महिला प्रतिनिधि रहेकोमा अहिले ४४ प्रतिशत पुगेको छ । सन् २०१५ सम्म अफ्रिकाका केही देशले संसदमा महिला सहभागिता ५० प्रतिशत पुर्‍याउने लक्ष्य लिएका छन् ।
अरब मुलुक कुवेतमा यसपटक महिलाहरूले कीर्तिमान नै बनाए । पहिरनमाथि निकै विवाद भैरहेकै अवस्थामा ४ महिला पहिलोपटक कुवेती संसद्मा पुगे । महिलालाई पूर्ण राजनैतिक अधिकार दिइएको चार वर्षपछि मात्र यो सम्भव भएको हो । गत जूनमा भएको संसदीय निर्वाचनमा मासौमा अल-मुबारक, सल्वा अल-जास्सेर, रोला दाहस्ती र असिल अल-अवादीले संसद पुगेर कीर्तिमान बनाएका हुन् । सबै महिला समाजमा अगुवा छन् । मुबारक राजनैतिक-वैज्ञानिक र पूर्वप्राध्यापक हुन् । जास्सेर कुवेत विश्वविद्यालयमा शिक्षा पढाउने प्राध्यापक हुन् । दाहस्ती अर्थशास्त्री तथा व्यवसायी हुन् भने अवादी दर्शनशास्त्रकी प्राध्यापक हुन् ।
उता पाकिस्तानी संसदमा सन् २००२ मा महिला प्रतिनिधित्व २१ दशमलव १ प्रतिशत रहेकोमा सन् २००७ मा भएको निर्वाचनमा २१ दशमलव ६ प्रतिशत पुग्यो । जेनेभास्थित अन्तर-व्यवस्थापिका युनियनको गणनाअनुसार एसिया क्षेत्रमा महिलाको संसदमा सहभागिता करबि १७ दशमलव ४ प्रतिशत
मात्र छ ।
विश्वका विभिन्न देशका संसदमा कुल सांसद् ४४ हजार ७ सय १८ रहेकोमा ४४ हजार ११ लाई पुरुष वा महिला वर्गमा छुट्याइएको छ । तीमध्ये ३५ हजार ८ सय २७ पुरुष छन् भने ८ हजार १ सय ८४ महिला (१८ दशमलव ६ प्रतिशत) छन् ।
एकल संसद भएको वा तल्लो सदनमा कुल ३७ हजार ७ सय ६२ सांसद् रहेकोमा महिला ६ हजार ९ सय ६७ (१८ दशमलव ८ प्रतिशत) मात्र छन् । उता माथिल्लो सदनका कुल ६ हजार ९ सय ५६ सांसद्मध्ये १ हजार २ सय १७ (१७ दशमलव ६ प्रतिशत) महिला छन् ।
क्षेत्रगत महिला सहभागिता हेर्ने हो भने नर्दिक राष्ट्र समूहलाई कसैले जित्न सकेको छैन । नर्दिक समूहमा डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्विडेन तथा यसका सहायक भूमिका रूपमा चिनिएका फारो आइल्यान्ड्स, ग्रिनल्यान्ड, स्भाल्बार्ड र अल्यान्ड छन् । नर्दिक समूहमा कुल सांसद् संख्याको ४२ दशमलव ५ प्रतिशत महिला छन् । उता उत्तर र दक्षिण अमेरकिामा एकल संसद वा तल्लो सदनमा २२ दशमलव ६ प्रतिशत र माथिल्लो सदनमा १९ दशमलव ४ प्रतिशत महिला छन् । जसको औसत योगफल कुल २२ दशमलव २ प्रतिशत हुन आउँछ । युरोपमा सुरक्षा तथा सहयोग संगठन (ओएससीई) जसमा नर्दिक समूह पनि समावेश छ, त्यहाँ कुल सांसद्को २१ दशमलव १ प्रतिशत महिला छन् भने नर्दिकबाहेक अन्य मुलुकमा १९ दशमलव ५ प्रतिशत महिला छन् । एसियामा १८ दशमलव ४ प्रतिशत, सबसहारा अफ्रिका क्षेत्रमा १८ दशमलव २ प्रतिशत, प्रशान्त क्षेत्रमा १५ दशमलव २ प्रतिशत र अरब राष्ट्रमा ८ दशमलव ६ प्रतिशत महिला सांसद् छन् । मध्यअफ्रिकी राष्ट्रहरूले २० प्रतिशत महिलालाई पनि सांसद् बनाउन सकेका छैनन् । युरोपका धेरै देश समेटेको युरोपेली संघ (ईयु) को छुट्टै संसद छ । क्षेत्रीय विकासका लागि बनाइएको संरचनामा करिब ३० प्रतिशत महिलाको प्रतिनिधित्व छ ।
राष्ट्रपिच्छेको तथ्यांक केलाउने हो भने अफ्रिकी मुलुक रुवान्डामा सबैभन्दा बढी महिला सांसद् छन् । त्यहाँको तल्लो सदनमा ५६ दशमलव ३ प्रतिशत र माथिल्लो सदनमा ३४ दशमलव ६ प्रतिशत महिला छन् । यसपटक स्विडेनलाई पनि रुवान्डाले जितेको छ । दोस्रो स्थानमा रहेको स्विडेनमा एउटा मात्र संसद छ जहाँ महिला ४७ प्रतिशत छन् । तेस्रो स्थानमा दक्षिण अफ्रिका छ जहाँको तल्लो सदनमा ४४ दशमलव ५ प्रतिशत र माथिल्लो सदनमा २९ दशमलव ६ प्रतिशत महिला छन् । चौथो र पाँचौं स्थानमा रहेका क्युबा र आइसल्यान्डमा एउटामात्र संसद छ जहाँ कुल सांसद्मध्ये ४३ दशमलव २ र ४२ दशमलव ९ प्रतिशत महिला छन् । करिब १ सय ७० देशको प्राप्त तथ्यांकमा नेपाल १७ औं स्थानमा छ, यहाँ संविधानसभामा ३३ दशमलव २ प्रतिशत महिला छन् । नेपालभन्दा अगाडि छैठौंबाट सोह्रौं स्थानसम्म अर्जेन्टिना, फिनल्यान्ड, निदरल्यान्ड्स, नर्वे, डेनमार्क, अंगोला, कोस्टारकिा, स्पेन, अन्डोरा, बेल्जियम र न्युजिल्यान्ड छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन-सार्कमा महिला सांसद्को अवस्था हेर्दा अहिले नेपाल सबैभन्दा अघि उभिएको छ । युद्धपछिको अवस्था भएर होला अफगानिस्तान दोस्रो स्थानमा छ जहाँको तल्लो सदनमा २७ दशमलव ७ प्रतिशत र माथिल्लो सदनमा २४ दशमलव ६ प्रतिशत महिला छन् । नेपाल र अफगानिस्तानलाई पाकिस्तान, बंगलादेश, भारत, भूटान, माल्दिभ्स र श्रीलंकाले पछ्याएका छन् । पाकिस्तानको तल्लो सदनमा २२ दशमलव ५ प्रतिशत र माथिल्लो सदनमा १७ प्रतिशत महिला छन् । उता बंगलादेशको एकल संसदमा १८ दशमलव ६ प्रतिशत महिला छन् । भारतको तल्लो सदनमा १० दशमलव ७ र माथिल्लोमा ९ दशमलव ५ प्रतिशत महिलाको प्रतिनिधित्व छ । भूटान, माल्दिभ्स र श्रीलंकामा क्रमशः ८ दशमलव ५, ६ दशमलव ५ र ५ दशमलव ८ प्रतिशत महिला सांसद् छन् ।
विश्वका सम्पन्न मुलुक महिला प्रतिनिधित्वका सन्दर्भमा ‘पुड्का’ साबित भएका छन् । जापान, अमेरकिा, जर्मनी, क्यानाडा, चीन, बेलायत, रुस तथा इटालीजस्ता औद्योगिक मुलुक धेरै महिला भएका दस मुलुक होइनन् । जापानको तल्लो सदनमा ११ दशमलव ३ एवं माथिल्लोमा १८ दशमलव २ प्रतिशत र अमेरकिाको तल्लो सदनमा १६ दशमलव ८ प्रतिशत एवं माथिल्लोमा १५ दशमलव ३ प्रतिशत महिला छन् । जर्मनीमा चान्सलरसमेत महिला भएकाले अवस्था अलि गौरव गर्न लायकको छ, त्यहाँको तल्लो सदनमा ३२ दशमलव ८ र माथिल्लोमा २१ दशमलव ७ प्रतिशत महिला छन् । क्यानाडाको तल्लो सदनमा २२ दशमलव १ प्रतिशत र माथिल्लो सदनमा ३४ दशमलव ४ प्रतिशत महिला छन् । बेलायतको तल्लो सदनमा १९ दशमलव ५ र माथिल्लोमा १९ दशमलव ७ प्रतिशत महिला छन् । उता रुसको तल्लो सदनमा १४ र माथिल्लोमा ४ दशमलव ७ प्रतिशतमात्र महिला छन् । औद्योगिक राष्ट्रको सूचीमा अन्तिमतिर आउने इटालीसँग महिला प्रतिनिधित्वका लागि दुःखी हुनुपर्ने कारण पर्याप्त छैन किनभने यहाँको तल्लो सदनमा २१ दशमलव ३ प्रतिशत र माथिल्लो सदनमा १४ प्रतिशत महिला सांसद् छन् ।
विश्वभर महिला सांसद्को अवस्था हेर्दा पपुआ न्युगिनी र यमनमा एक प्रतिशतभन्दा कम महिला सांसद् छन् । उता बेलिज, माइक्रोनेसिया, नाउरू, पलाऊ, कतार, साउदी अरेबिया, सोलोमन आइल्यान्ड्स र तुभालुजस्ता देशमा एक जना पनि महिला सांसद् छैनन् ।
महिला बढी मेहनती
पुरुष सांसद्को तुलना महिला सांसद् मेहनती छन् भन्ने पछिल्लो अनुसन्धानले देखाएको छ । पुरुष सांसद्हरूले उनीहरूको ‘खिल्ली’ उडाउन नछाडे पनि महिला सांसद् मेहनतका लागि चिनिएका छन् । अष्ट्रेलियाकी पूर्वसांसद् मेरी क्रफोर्डले २० वर्ष लगाएर गरेको अनुसन्धान अनुसार बढी महिलाले संसद्मा स्थान नलिउन्जेल यो अवस्था जारी रहनेछ । लेबर दलका तर्फबाट सन् १९९६ सम्म सांसद् रहेकी क्रफोर्डले गत नोभेम्बरमा आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै भनेकी छन्, ‘पुरुष सांसद् आफ्नो निर्वाचन क्षेत्रको कामसमेत आफ्ना कर्मचारीमार्फत गराउँछन्, आफू अन्यत्र भुलिरहेका हुन्छन् ।’
उनले क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीका लागि गरेको अनुसन्धानका आधारमा यी तथ्य सार्वजनिक गरेकी छिन् । उनले भनिन्, ‘यसका लागि राजनीतिज्ञहरूसँग सयौं अन्तर्वार्ता गरिएको छ ।’ उनको तर्कलाई सकार्ने पक्षमा भने पुरुष सांसद्हरू देखिएनन् ।
(२०६६ पुसको नारी मासिकमा प्रकाशित)

Write a comment