समुद्रपारि गाढा अक्षता

Dashain-Story_2018_Himalदशैंको दिनगन्ती शुरू हुनासाथै विभिन्न देशमा रहेका नेपाली समुदायको व्यग्रता बढ्छ । त्यो व्यग्रतामा दशैं मनाउने हतारोसँगै कामबाट विदा कसरी मिलाउने भन्ने पिरलो मिसिएको हुन्छ । कामकाजी व्यक्तिको समस्या एकछिन थाती राखौं र अमेरिकाको भर्मन्ट राज्यका नेपाली समुदायका बालबालिकाको कुरा गरौं ।
यी बालबालिकालाई दशैंको टीकाको दिन विद्यालयले विदा दिन्छ । बर्लिङ्गटन स्कूल डिस्ट्रिक्ट र पेन्सलभेनियाको पिट्सवर्ग स्कूल डिस्ट्रिक्टले आफ्नो शैक्षिक क्यालेण्डरमा अक्टोबर १९ लाई ‘विजयादशमी’ वा ‘दशैं’ उल्लेख गरेका छन् । यस दिन स्कूल विदा नभए पनि दशैं मनाउने विद्यार्थी नआउँदा गयल भएको मानिंदैन । संवेदनशील स्कूल नीतिले यस्ता दिनमा विद्यार्थी गयलको विषयमा धार्मिक आवश्यकतालाई प्राथमिकतामा राखेको छ ।
बालबच्चा स्कूल जानु नपरेको सजिलो आफ्नो ठाउँमा छ भने बाबु–आमालाई कामबाट छुट्टी लिनुपर्ने अवस्था पनि छ । केन्टकी राज्यको लुइभिलका डा. लक्ष्मीनारायण ढकाल भन्छन्, “विदा तानतुन गरी मिलाएर दशैं मनाउनु यहाँको विशेषता भएको छ ।” केन्टकीमै बस्ने राजु तिमल्सिना पनि दशैं विदाको आशमा छन् । लेक्जिङ्गटनस्थित अमेजनको वितरण भण्डारमा काम गर्ने उनी भन्छन्, “हाम्रो ठूलो चाड हो भनेर विदा मिलाउन व्यवस्थापनसँग प्रस्ताव राखेका छौं । व्यवस्थापनले सकारात्मक मानेको छ ।” Read More »