दाह्री: अम्रिकाका लागि हानिकारक छ

यसबेला अम्रिका र अम्रिकानेलाई दाह्री भएका एकुन्टा मान्छ्याले डर देखाइराख्या छ । ती दाह्री भा’ मानिस सर्वगुण सम्पन्न भा’ पनि सुन्या त हो । आम मुसलमानजस्तै टाउकाँ सेतै कपडा बाँधेका (कतै कात्रै त बाध्या होइनन् नि बा !), लामो कुर्ता लाका, बूढोजस्ता देखिने, दाह्री पाल्या, साँगुर्‍या आँखा, चोसे पर्‍या चिउँडा, पातलो र अग्लो शरीर भा’ ती दाह्री पाल्या मान्छ्या हुन् – ओस्मा बिन लादेन । लादेनका बोली चाम्रा छैनन् रे नम्रा छन् । उनी आफ्ना मित्रालाई झैं सबैलाई राम्रा व्यावार गर्नाका खातिर प्रसिद्ध छन् । अझ उनलाई पढाउने एकुन्टा मास्टरले त के पनि भनिदिए भने विद्यार्थी रहँदा ओस्मा त लजालु पनि थे । केट्केटीमा कतै मस्किन्थे कि ?  Read More »

राजधानी एक्सप्रेस

अहिले राजधानीमा मान्छेको अनुपातमा गाडि बढेका छन् अर्थात् पहिले मान्छे जुन अनुपातमा बढ्थे, अहिले त्यो छैन । गाडि बढ्ने क्रम भने बढ्दो छ । तै पनि राजधानीमा बस यात्रा कठिन नै छ, त्यसमा पनि कार्यालय जाँदा र आउँदा । खलासी मान्छे कोच्न नजान्ने छ भने यसले त्यो काम नगरे हुन्छ । ड्राइभर अघिल्लो जन्ममा बकुल्लाका रुपमा जन्मिएको हुनुपर्छ, उ ढुकिरहन्छ । यहाँका बसका लागि यात्रु होइन, एक बराबर पाँच रुपैयाँ हुन्छ । सात किलोमिटर पार गर्न आधा घण्टा त लागिहाल्छ । Read More »

उम्मेदवार नं. २०६

म उम्मेदवार नं. २०६ । चुनावमा उम्मेदवारहरू उठ्छन् । म पनि क्षेत्र नं. २०६ बाट चुनाव उठेको । आज बकपत्र जारी गर्ने शुभ-साइत । सबैले घोषणापत्र बनाउँछन्, घोषणा गर्छन् तर काम भने ठ्याम्मै गर्दैनन् । एकजनाले मात्र बक्ने भएकाले पनि यो बकपत्र हो, घोषणापत्र होइन । मेरो बकपत्र जारी गर्दा पत्रकार बोलाउँ भने को आउला र ? एक्लो मान्छेको बकपत्रमा के नै पो होला भन्लान् । त्यसैले यही एउटा निर्विकल्प माध्यमबाट आफ्नो बकपत्र जारी गर्न गइरहेको छु । कबोल गरिदिनु होला । अनि मेरो बकपत्रभन्दा पनि मेरो कूल के हो ? मेरा बाबु-दाजले हिँडेको मार्गमा म पनि हिँडेको छ वा छैन ? म पनि केही क्षमता भएको मान्छे हो वा होइन ? हिङ नभए पनि हिङ बाँधेको टालो हो कि ? त्यो बुझ्नैपर्ला । किनभने मैले आफ्नो जीवनी कतै छापेको वा छपाएको छैन अथवा भनौं कसैले लेख्ने जमर्को नै गरेका छैनन् । Read More »

के ? कस्तो ?

प्रजातन्त्रः अन्धाहरूलाई हात्ती
सरकारः तरबार हराएको रित्तो म्यान
पक्षः सत्तामा मस्त
विपक्षः भत्तामा मस्त
जनताः बाह्र छोरा तेह्र नाती
            बूढाको धोक्रो काँधै माथि
पत्रिकाः राजनीतिक दलका बुलेटिन
पत्रकारः राजनीतिक दलका बुलेट
दरबारः सिङ भाँचिएको गोरू
देशः केवल बदल्छ भेष
महानगरः महाकोपरा
देशको राजनीतिः बिहारी प्रजातन्त्रको चाल र गति
खुला बजारः महँगीको व्यापार
मानव अधिकारः बाँच्नेलाई धिक्कार, मर्नेलाई अधिकार
प्रेस स्वतन्त्रताः मत्ता हात्ती, ज्यादा नमात्ती
महानगर प्रमुख (काठमाडौं) : सेवा, मेवा, ढेवा
विकासः गएको छ प्रवास
संस्कृतिः बालुवामा हालेको पानी
परम्पराः सौताको छोरा
नेताः उता न यता
फेरि, जनताः भेडा, पाँच वर्षे जगेडा
००
(२०५३ को गाईजात्राका बेला ‘फूमन्तर’, नम्बर ३, हाँस्यव्यङ्ग्य पत्रिकामा प्रकाशित)

नेपोलियनको मृत्युः एक रहस्य

नेपोलियन बोनापार्ट प्रथमको मृत्यु ५ मई, १८२१ मा आइसल्याण्डको दक्षिणी हेलेनामा भएको हो । उनको मृत्यु पेटको क्यान्सरले भएको हो भनी उनको मृत्युको प्रमाणित कागजपत्रमा Dr. Antommarchi ले हस्ताक्षर गरेका थिए ।
उनको मृत्युको कारण पेटको क्यान्सरबाट भयो भन्दा केही मानिसहरूले विश्वास गरे तर केही मानिसहरूले त्यो मृत्यु कुनै प्राकृतिक मृत्यु नभएर विषको प्रयोग गरी हत्या गरिएको हो भनी भन्थें तर बिना कुनै कारण । Read More »

हवस ! महाराज

जब सांसदहरूको सिंहदरबारमा हुन्छ भेला
तब पृथ्वीनारायणसँग गर्न थाल्छन् रेला
पहिलो हुद्दाबाट एउटा कराउँछ -
”थाक्यो होला उठाइरहँदा हात
छोड्नुहोस् उठाउन, लाग्नुहोस् हाम्रो साथ”
दोस्रो हुद्दाबाट -
”एक औंला उठाउनमा कुनै तुक रहेन अब
पाँच वटै औंला उठाउनु पर्ने भो”
तेस्रो हुद्दाबाट -
”उठाउने भए उठाउनुहोस् दुवै हात
नत्र भने मेरो हातमा घन छ”
चौथो हुद्दाबाट लुकेर कराउँछ अर्को -
”खाली औंला र हात अब नउठाउनु
हात फिंजाएर बरू भिख माग्नु”
पाँचौं हुद्दा मौन रहन्छ
छैठौं हुद्दाबाट -
”जोडदार तरिकाले ओर्लनुपर्‍यो, मैदानमा
हामी छौं सडकमा
कसेर उठाउनुहोस् मुठ्ठी”
एकपछि अर्को, लाग्छ झर्को
र मानेर दिक्क पृथ्वी बोल्छन् -
”के हो यस्तो चाला
गर्न त आँटेका होइनौं मेरो छुट्टी ?!”
००
कताबाट हो कुन्नी जंगबहादुरको बोली आउँछ
”पृथ्वीलाई छुट्टी दिने भए
बोलाउनु मलाई”
मौन बसेको हुद्दाबाट एउटा चिच्याउँछ
”हवस् ! महाराज”
००
(२०५३ चैत २१ को ‘समकालिन साप्ताहिक’मा प्रकाशित)

पृथ्वी र मेरो सपना

त्यही लेखेथें – यो पानामा
जे देखेथें – एउटा सपनामा
भेटेथें – पृथ्वी नारायणलाई
सोधेथें – राष्ट्रनिर्मातालाई
देखेर होला दौडेको
‘यो किन ?’
उत्तरमा पाएथें – ‘बहादुर शाह, बलभद्र, भीमसेन र अमरसिंहलाई खोज्दैछु ।’
प्रश्न थपें – ‘दौडदै चाहिँ किन ?’
पाएँ उत्तर – ‘छत्तीस देखें र छयालीस देखें
सदन देखें र सडक देखें
सार्वभौमसत्ता खतरामा छ
मेरा दुःखले आर्ज्याको मुलुक
फर्सिका मुन्टा भाँचेझैं भाँचिदैछ
मैले कसरत नगरे गर्छ कसले ?
चन्द्र-सूर्यका ठाउँमा विदेशी झण्डा त लहराउँदैन ?
कतै नेपालीको नाम निशान त हराउँदैन ?’
म पृथ्वीको प्रतिप्रश्नको उत्तर दिन सक्दिन
ब्यूँझन्छु र
पुग्छु, सिंहदरबार
हेर्छु – उही पृथ्वी उभिएका छन्
एकताका लागि
एक औंला उठाएर
थोरै भए पनि मनमा शान्ति हुन्छ
जब पुग्छु सिंहदरबार र देख्छु
चन्द्र-सूर्य र पृथ्वीलाई ।
००
(२०५३ साउन २४ को ‘समकालिन साप्ताहिक’मा प्रकाशित)

एक अन्तर्वार्ता

चोखो पुरोहितको अभावमा पिताले
नाम राख्न नमानेर नाम नरहेका,
चैते र कात्तिकेले कालो मिचेर अगाडि
बढ्न नपाएका,
छेपारोको कथा सुनेका,
वी.पी. को सपना भोगेका
समस्या बोकेका
पीडाले टोकेका
मन्त्री भेट्न जाँदा स्वकिय सचिवले रोकेका
प्रस्तुत छ, एक अन्तर्वार्ताः
० कसरी बाँच्नु भा’ छ?
- गाँस, बास र कपास पाएर
० के खानु हुन्छ ?
- आश्वासनका गाँसहरू
० कहाँ बस्नुहुन्छ ?
- निरपेक्ष गरीबीको रेखामुनि
० के लाउनुहुन्छ ?
- चुनावपिच्छे पार्टीका घोषणापत्रहरू
० आखिर तपाईं को हो त ?
प्रतिप्रश्न – यति भनेपछि पनि चिन्नु भएन ?
म तिनै बयालिस प्रतिशतमध्येको एक ।
००
(२०५२ जेठ १७ को ‘जनआस्था साप्ताहिक’मा प्रकाशित)

तीन मुक्तक

युवा अनुशासन
साढेसातको दशा लागेको छ
मेरा सात वर्ष नपुगेका छोराहरू
आफूलाई ०७७ UP
अर्थात् James Bond र FIDO DIDO
भएको दाबी गर्छन्
होइन यो उम्रिदैको तीनपात
यो त हो उम्रिदैको सातपात
००
हिजो, आज र भोलि
आज,
आजैको पर्वाह गर्दैन
हिजोको बदख्वाई गर्छ
भोलि के हुन्छ कस्लाई थाहा ?
००
नेता
स्वाभिमान हराउँछ
भाषणको खोल ओढ्छ
शब्दहरूको शरण लिन्छ
सुतुरमुर्गले डराएर बालुवामा
टाउको लुकाए झैं ।
००
(२०५२ वैशाख २८ को ‘समकालिन साप्ताहिक’मा प्रकाशित)

लोडसेडिङ्ग

(क)
के घोक्नु ‘इलेक्ट्रीसिटी’ को हिज्जे
समय अनुसारको डोको बोक्नु पर्छ
अब त,
‘लोडसेडिङ्ग’ को हिज्जे घोक्नु पर्छ ।
००
(ख)
स्कूले किताबको
‘विद्युत’ शीर्षकको पाठमा
नेपाल जलस्रोतको धनी देश हो
भनेर पढ्थें – म
लोडसेडिङ्गको अँध्यारो छ
टुकीको मधुरो प्रकाशमा
नेपाल जलस्रोतको धनी देश हो
भनेर उही पाठ पढ्दैछ मेरो छोरो ।
००
(ग)
विद्युत परियोजनाहरूमा
भए ठूला ठूला स्क्यान्डल
लोडसेडिङ्गको अँध्यारो छ
बालेको छु- क्यान्डल ।
००
(२०५१ चैत २३, बिहिबारको ‘समकालिन साप्ताहिक’मा प्रकाशित)