हवस ! महाराज

जब सांसदहरूको सिंहदरबारमा हुन्छ भेला
तब पृथ्वीनारायणसँग गर्न थाल्छन् रेला
पहिलो हुद्दाबाट एउटा कराउँछ -
”थाक्यो होला उठाइरहँदा हात
छोड्नुहोस् उठाउन, लाग्नुहोस् हाम्रो साथ”
दोस्रो हुद्दाबाट -
”एक औंला उठाउनमा कुनै तुक रहेन अब
पाँच वटै औंला उठाउनु पर्ने भो”
तेस्रो हुद्दाबाट -
”उठाउने भए उठाउनुहोस् दुवै हात
नत्र भने मेरो हातमा घन छ”
चौथो हुद्दाबाट लुकेर कराउँछ अर्को -
”खाली औंला र हात अब नउठाउनु
हात फिंजाएर बरू भिख माग्नु”
पाँचौं हुद्दा मौन रहन्छ
छैठौं हुद्दाबाट -
”जोडदार तरिकाले ओर्लनुपर्‍यो, मैदानमा
हामी छौं सडकमा
कसेर उठाउनुहोस् मुठ्ठी”
एकपछि अर्को, लाग्छ झर्को
र मानेर दिक्क पृथ्वी बोल्छन् -
”के हो यस्तो चाला
गर्न त आँटेका होइनौं मेरो छुट्टी ?!”
००
कताबाट हो कुन्नी जंगबहादुरको बोली आउँछ
”पृथ्वीलाई छुट्टी दिने भए
बोलाउनु मलाई”
मौन बसेको हुद्दाबाट एउटा चिच्याउँछ
”हवस् ! महाराज”
००
(२०५३ चैत २१ को ‘समकालिन साप्ताहिक’मा प्रकाशित)

पृथ्वी र मेरो सपना

त्यही लेखेथें – यो पानामा
जे देखेथें – एउटा सपनामा
भेटेथें – पृथ्वी नारायणलाई
सोधेथें – राष्ट्रनिर्मातालाई
देखेर होला दौडेको
‘यो किन ?’
उत्तरमा पाएथें – ‘बहादुर शाह, बलभद्र, भीमसेन र अमरसिंहलाई खोज्दैछु ।’
प्रश्न थपें – ‘दौडदै चाहिँ किन ?’
पाएँ उत्तर – ‘छत्तीस देखें र छयालीस देखें
सदन देखें र सडक देखें
सार्वभौमसत्ता खतरामा छ
मेरा दुःखले आर्ज्याको मुलुक
फर्सिका मुन्टा भाँचेझैं भाँचिदैछ
मैले कसरत नगरे गर्छ कसले ?
चन्द्र-सूर्यका ठाउँमा विदेशी झण्डा त लहराउँदैन ?
कतै नेपालीको नाम निशान त हराउँदैन ?’
म पृथ्वीको प्रतिप्रश्नको उत्तर दिन सक्दिन
ब्यूँझन्छु र
पुग्छु, सिंहदरबार
हेर्छु – उही पृथ्वी उभिएका छन्
एकताका लागि
एक औंला उठाएर
थोरै भए पनि मनमा शान्ति हुन्छ
जब पुग्छु सिंहदरबार र देख्छु
चन्द्र-सूर्य र पृथ्वीलाई ।
००
(२०५३ साउन २४ को ‘समकालिन साप्ताहिक’मा प्रकाशित)

एक अन्तर्वार्ता

चोखो पुरोहितको अभावमा पिताले
नाम राख्न नमानेर नाम नरहेका,
चैते र कात्तिकेले कालो मिचेर अगाडि
बढ्न नपाएका,
छेपारोको कथा सुनेका,
वी.पी. को सपना भोगेका
समस्या बोकेका
पीडाले टोकेका
मन्त्री भेट्न जाँदा स्वकिय सचिवले रोकेका
प्रस्तुत छ, एक अन्तर्वार्ताः
० कसरी बाँच्नु भा’ छ?
- गाँस, बास र कपास पाएर
० के खानु हुन्छ ?
- आश्वासनका गाँसहरू
० कहाँ बस्नुहुन्छ ?
- निरपेक्ष गरीबीको रेखामुनि
० के लाउनुहुन्छ ?
- चुनावपिच्छे पार्टीका घोषणापत्रहरू
० आखिर तपाईं को हो त ?
प्रतिप्रश्न – यति भनेपछि पनि चिन्नु भएन ?
म तिनै बयालिस प्रतिशतमध्येको एक ।
००
(२०५२ जेठ १७ को ‘जनआस्था साप्ताहिक’मा प्रकाशित)

तीन मुक्तक

युवा अनुशासन
साढेसातको दशा लागेको छ
मेरा सात वर्ष नपुगेका छोराहरू
आफूलाई ०७७ UP
अर्थात् James Bond र FIDO DIDO
भएको दाबी गर्छन्
होइन यो उम्रिदैको तीनपात
यो त हो उम्रिदैको सातपात
००
हिजो, आज र भोलि
आज,
आजैको पर्वाह गर्दैन
हिजोको बदख्वाई गर्छ
भोलि के हुन्छ कस्लाई थाहा ?
००
नेता
स्वाभिमान हराउँछ
भाषणको खोल ओढ्छ
शब्दहरूको शरण लिन्छ
सुतुरमुर्गले डराएर बालुवामा
टाउको लुकाए झैं ।
००
(२०५२ वैशाख २८ को ‘समकालिन साप्ताहिक’मा प्रकाशित)

लोडसेडिङ्ग

(क)
के घोक्नु ‘इलेक्ट्रीसिटी’ को हिज्जे
समय अनुसारको डोको बोक्नु पर्छ
अब त,
‘लोडसेडिङ्ग’ को हिज्जे घोक्नु पर्छ ।
००
(ख)
स्कूले किताबको
‘विद्युत’ शीर्षकको पाठमा
नेपाल जलस्रोतको धनी देश हो
भनेर पढ्थें – म
लोडसेडिङ्गको अँध्यारो छ
टुकीको मधुरो प्रकाशमा
नेपाल जलस्रोतको धनी देश हो
भनेर उही पाठ पढ्दैछ मेरो छोरो ।
००
(ग)
विद्युत परियोजनाहरूमा
भए ठूला ठूला स्क्यान्डल
लोडसेडिङ्गको अँध्यारो छ
बालेको छु- क्यान्डल ।
००
(२०५१ चैत २३, बिहिबारको ‘समकालिन साप्ताहिक’मा प्रकाशित)

राष्ट्रियतामा गर्व गर्नेहरू

सबैले राष्ट्रियतामा गर्व गर्नुपर्छ
राणाहरूले ‘नयाँ मुलुक’
अर्थात् ‘बाँके, बर्दिया, कैलाली र कञ्चनपुर’
मुलुकमा जोडेर गर्व गरेथें
कांग्रेसीहरूले ‘टनकपुर’
मुलुकबाट घटाएर गर्व गरे
आखिर
राष्ट्रियतामा गर्व गर्नु न हो ।
००
(चकमक उपाध्यायका नाममा २०५१ कात्तिक १७, बिहिबारको ‘समकालिन साप्ताहिक’मा प्रकाशित)

मैले मलाई खोज्नु परेको छ

शहर पसेको भोलिपल्टदेखि
एउटा- म
यहाँ, त्यहाँ, जहाँ छ
सम्पन्नताको मृगतृष्णासँगै
जीवनलाई जुत्ताको तलुवा झैं खियाउँदै
कलेटी परेको अनुहार लिएर
चोक, गल्ली, सडक चहारिरहेछ
अर्को- म
मेरा लक्ष्य, उद्देश्य, आदर्श
बाबु बाजेको सपना
आमाको माया र आशीर्वाद लिएर
हराएको छ ।
चिन्ता लागिरहेछ
कतै भोक-भोकै, तिर्खै र नाङ्गै त छैन ?
हराएको पीडाले खपिनसक्नु पारेको छ ।
यता जिन्दगीले केवल दुई छाक टारेको छ ।
००
शहर पसेका हरेक म हरू
दुईटा भएका छन्
आधा ममा बाँचेका हामीहरू
अब मिल्नु परेको छ
एक आपसमा आसन्न बन्नु परेको छ
गाँस, बास र कपासभन्दा
आजको ठूलो आवश्यकता
– मैले हराएको आधा म खोज्नु परेको छ ।
मैले मलाई खोज्नु परेको छ
००
(२०५१ साउनको ‘मधुपर्क’ मासिकमा प्रकाशित)

उपत्यका २०४९

सधैं भरिएका खर्पन
र रित्ता कन्टेनर लिएर
यो उपत्यका ब्यूँझिने गर्छ
निसासिन्छ शुद्ध वायुको अभावमा
जुत्ताको तलुवा खियाउँछ
उज्यालोमा भीडमा हराउँछ
अँध्यारोमा बिलाउँछ
जिउनुको खेस्रा केलाउँछ
फेरि पलाउँछ
टुसाउँछ
दिनभरको थकाइ मेट्न
एक घुट्को रक्सी पिएर
रित्ता खर्पन
र भरिएका कन्टेनर लिएर
साँझ रन्थनिँदै घर फर्कने गर्छ ।

००
(२०४९ चैत २७ शुक्रबारको ‘साप्ताहिक विमर्श’मा प्रकाशित)

व्यङ्ग्य मुक्तक कविताहरू

वर्तमान सत्ताधारी
मह काढ्यो अर्कैले
हात चाट्दैछन् यिनीहरू

००
लोडसेडिङ
छिमेकीको भोजलाई
हर्पे सुम्पेर
बिना भुटुनमा टारेको छाक जस्तो

००
नेताको बोली
चुनाव अगाडी
”गोपीकृष्ण कहो”
चुनाव पछाडी
”चुप रहो”

००
वर्तमान कुटनीति
चाणक्यको नीति
र गीताको बखान लाउनेहरू
चतुरेको दाउपेचसम्म जान्दैनन्

००
जिन्दगीको डोको
खुल्ला बजार नीतिले पैदा गरेको
अर्थ व्यवस्थाको पोकोले
जिन्दगी बोक्नै नसक्ने डोको भएको छ ।

००
(२०४९ फागुन २९ शुक्रबारको ‘साप्ताहिक नेपाली-पत्र’मा प्रकाशित)